चितवन । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो ।
कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९ सय ८० दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये चितवनमा मात्रै २ सय ९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।
राठोरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ । धादिङ तेस्रो स्थानमा रहेको उgले जानकारी दिए । मकवानपुरमा १ सय ६५ दुर्घटना भएको छ भने धादिङमा १ सय ५९ दुर्घटना भएको छ ।
यस्तै सिन्धुलीमा १ सय ५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन् । प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ ।
बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन् । सडकका कारण ४ सय ८९ वटा दुर्घटना भएको राठोरले बताए । उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ । तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताए ।
चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४ सय १५ सवारी परेका छन् । जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उनले बताए।
यस्तै कार, जीप २ सय ४१, ट्रक ट्याङ्कर १ सय ६१, बस १ सय ५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३ सय ७४ जनाको मृत्यु भएको छ भने २ हजार ९८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ सय ३० गम्भीर र एक हजार ५ सय ६२ जना सामान्य घाइते भएका हुन् । रासस