काठमाडौं। स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनको हिंसात्मक प्रदर्शनमा हालसम्म ३० जनाको मृत्यु र १०६१ जना घाइतेले विभिन्न अस्पतालमा उपचार गराइरहेको जनाएको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र १ हजार ६१ जनाको उपचार भइरहेको हो।
मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरिएको उनले बताए। यो संख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो।
निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ।
यस्तै, अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ। ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपछि घर फर्किइसकेका छन्।
सचिव डा. देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना, वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ।
सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भइरहेको छ।–रासस