काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल सुरु गरेको छ । ५ दलीय गठबन्धन हुँदा नै ६/६ महिनामा मन्त्रीहरु परिवर्तन गर्ने सहमति भएको बताइएको छ ।
खास गरी माओवादी केन्द्रभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएपछि असन्तुष्ट बनेका नेताहरुलाई चित्त बुझाउन भए पनि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मन्त्रीहरुलाई फिर्ता बोलाएर असन्तुष्ट नेताहरुलाई मन्त्री बनाउने तयारीमा जुटेका छन् ।
पार्टी छाड्ने डरका कारण उनलाई फकाउन अध्यक्ष दाहालले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको माओवादी निकट नेताहरु बताउँछन् । यसै गरी, नेकपा एकीकृत समाजवादीले पनि कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाउने विषयमा पार्टीमा छलफल गरिरहेको बताइएको छ । लोकतान्त्रिक समाजवादी पाटीभित्र पनि अवस्था यस्तै छ ।
देशको अर्थतन्त्र संकटमा परेपछि अहिले अर्थमन्त्री जनार्दन शर्माको आलोचना भइरहेको छ । अर्थतन्त्र सुधारमा खासै चासो नदेखाएको र आन्तरिक मोलमोलाइमा लागेको आरोप अर्थमन्त्री शर्मालाई लागेको छ ।
अहिले अर्थतन्त्रको बाह्य क्षेत्र संकटपूर्ण अवस्थामा छ । आयात बढेर शोधनान्तरघाटा २ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । यसले गर्दा बाह्य क्षेत्रबाट अर्थतन्त्रलाई बढी दबाब सिर्जना भएको छ ।
यस्तै बैंकिङ प्रणालीमा तरलता संकट समाधान गर्नतिर ध्यान नदिएको, आयात घटाउन अर्थले गर्नुपर्ने काम नगरेर राष्ट्र बैंकलाई जिम्मा लगाएको आरोप उनीमाथि लाग्दै आइरहेको छ ।
अर्थमन्त्री शर्माले करको दर मा हेरफेर गरेर आयात निरुत्साहित गर्न सकिने अवस्था हुँदाहुँदै प्रतीतपत्र (एलसी) खोल्न शतप्रतिशतसम्म मार्जिन राखेर राष्ट्र बैंकमार्फत हस्तक्षेप गर्न लगाएका छन् । उनकै कारण अहिले अर्थ मन्त्रालय अनिर्णयको बन्दी बनेको छ ।
संकटमा परेको अर्थतन्त्र सुधार्न ध्यान नदिएको र विवादमा फस्दै जाँदा पार्टी नै बदनाम हुने अवस्था आएपछि उनलाई फिर्ता बोलाउने निष्कर्षमा अध्यक्ष दाहाल पुगेको बताइएको छ ।
अर्थतन्त्रलाई सही ढंगले हाँक्न नसकेको, राष्ट्र बैंकको काममा हस्तक्षेप गरेको, मन्त्रालयले व्यवस्थापनमा कुनै पनि भूमिका खेल्न नसकेको भन्ने आरोपमा अध्यक्ष दाहाल सहमत भएका माओवादी नेताहरु नै बताउँछन् ।
उनले अहिले अर्थतन्त्रको कामभन्दा कर्मचारीको सरुवा÷बढुवा र नियुक्तिमा बढी ध्यान दिएको भन्दै आलोचना भइरहेको छ । सोही कारण उनलाई मन्त्रीबाट फिर्ता बोलाएर पाटीको महत्वपूर्ण कामको जिम्मेवारी दिने पक्षमा अध्यक्ष दाहाल पुगेको उनीनिकट स्रोत बताउँछ ।
उनको ठाउँमा वर्षमान पुनलाई अर्थमन्त्री बनाउने पक्षमा छन् दाहाल । तर, यता नेपाली कांग्रेसभित्र अर्थमन्त्री आफैसँग राख्नुपर्ने आवाज उठिरहेको छ । माओवादीलाई परराष्ट्र मन्त्रालय दिएर भए पनि अर्थ मन्त्रालय कांग्रेसले राख्नुपर्ने मत बलियो बन्दै गएको छ ।
परराष्ट्र माओवादीलाई दिएपछि अर्थ मन्त्रालय आफूले पाउनुपर्ने माग डा. नारायण खड्काको रहेको बताइएको छ । त्यस्तै प्रतिनिधिसभामा एमसीसी टेबल गराएका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि अर्थ मन्त्रालयको दाबी गरिरहेको बुझिएको छ ।