काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर दबाबमा छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको साहाराले अर्थतन्त्रलाई जेनतेन टिकाउने प्रयास गरेको देखिन्छ । तर, त्यो प्रयास पनि सफल हुन सकेको छैन ।
बिग्रँदो अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन मौद्रिक नीति र आर्थिक नीति एकसाथ चलाउनुपर्ने हुन्छ । तर, संकटतर्फ उन्मुख अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्नबाट जोगाउन आर्थिक नीतिले कुनै सहयोग नगरेको देखिन्छ ।
अहिले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई ठीकठाक पार्न खोजेको देखिन्छ । यो दीर्घकालीन समाधान भने हाेइन । केन्द्रीय बैंकको त्यो प्रयास ठीक भए पनि पर्याप्त नभएको बारम्बार अर्थतन्त्रका विज्ञहरु बताइरहेका छन् ।
अर्थतन्त्रमा देखिएको संकटको कालो बादल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बारम्बार व्यवसायी र कांग्रेसकै नेताहरुले दबाब दिँदा पनि उनले सत्ता डगमगाउने डरले अर्थमन्त्रीलाई अर्थतन्त्रका बारेमा सामान्य प्रश्नसमेत गर्न आँट नगरेको कांग्रेसी नेताबीच चर्चा चलिरहेको छ ।
प्रधानमन्त्री देउवा निटककै नेताहरुले अर्थतन्त्र निरन्तर थल्लिरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्मालाई फेरेर नयाँ अर्थमन्त्री ल्याउन सुझाव दिइरहेका छन् । देउवानिकट एक नेताका अनुसार प्रधानमन्त्री देउवालाई अर्थतन्त्रको भन्दा सत्ताको बढी चिन्ता लागेको देखिन्छ ।
‘अर्थतन्त्रलाई बचाउन अर्थमन्त्रीलाई फेरेर नयाँ अर्थमन्त्री ल्याउन तपाईले पहल लिनुपर्छ भनेर हामीले प्रधामन्त्री देउवालाई बारम्बार दबाब दिइरहेका छौ,’ देउवा निकट एक व्यवसायीले भने, ‘अर्थमन्त्री शर्मालाई हटाउने वित्तिकै आफ्नो सरकार ढल्छ भन्ने चिन्ताबाट अघि बढ्दा समस्या आइरहेको छ ।’
प्रधानमन्त्री देउवाले केही दिनअघि केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र केही व्यवसायीसँग देशको अर्थतन्त्रको वर्तमान अवस्था बारे छलफल गर्न बोलाएका थिए ।
त्यो बेला सहभागी सबै उद्योगी व्यवसायी, गभर्नर अधिकारी र उनी निकट नेताले एकैस्वरमा अर्थमन्त्री आफूले लिएर अर्थतन्त्रलाई बचाउन सुझाव दिएका थिए ।
व्यवसायीको सुझावमा देउवाले यो बेला अर्थतन्त्र जोगाउन अर्थमन्त्री चेन्ज गर्न थालियो भने सरकार ढल्छ । त्यही भएर अहिले अर्थमन्त्री परिवर्तन गर्न नसक्ने जवाफ दिए ।
कांग्रेसभित्र बिग्रँदो अर्थतन्त्रबारे निरन्तर चिन्ता हुन थालेको छ । तर, प्रधानमन्त्री देउवा अर्थमन्त्रीसँग अर्थतन्त्रका बारेमा सामान्य सोधपुछसमेत गर्ने आँट गरेका छैनन् ।
देउवा निकट स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैंले अर्थतन्त्र बिग्रिँदै गएको र त्यसले आउने चुनावमा गम्भीर असर गर्ने महसुस गरेको अवस्थामा मात्रै जनार्दन शर्मा फेरिन सक्ने कांग्रेसका नेताहरु बताउँछन् ।
अर्थमन्त्री शर्मा अर्थतन्त्रलाई भड्खालो पर्नबाट जोगाउन कुनै पनि उपायको अवलम्बन गरेका छैनन् । मौद्रिक नीति र आर्थिक नीति एकसाथ मिलेर अघि बढाइएको भए अर्थतन्त्र यो तहसम्म समस्यामा नआउने प्रधानमन्त्री देउवासँगको भेटमा व्यवसायीले बताएका थिए ।