काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत मात्र पुँजीगत खर्च हुने देखिएको छ । बजेटको मध्यावधि समिक्षामा ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा हालसम्मको अवस्था हेर्दा ८० प्रतिशत भन्दा बढी पुँजीगत खर्च नहुने देखिएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको मंगलबारसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिए ।
‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जबकी बजेटको मध्यावधि समिक्षाले ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो’ उनले भने, ‘त्यो लक्ष्यमा पुग्न नसक्ने सुन्दा म चिन्तित छु तर अहिलेसम्म केही बिग्रेको छैन । हामी सबैले प्रयास गरौं । यसो गर्दा लक्ष्य भेट्टाउन खासै गाह्रो पर्दैन ।’
पुँजीगत खर्च ९० प्रतिशत पुरयाउन अर्थ मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने उनले प्रतिबद्धतासमेत जनाए । बढी पुँजीगत बजेट भएका मन्त्रालयले कम खर्च गरेको र आवको अन्त्यसम्म पनि पुँजीगत खर्च उल्लेख्य मात्रामा गर्न नसक्ने जानकारी दिएका थिए । मन्त्री शर्माले बढी पुँजीगत खर्च भएका मन्त्रालयको प्रगति सन्तोषजनक नहुनु चिन्ताको बिषय भएको बताए ।
‘कम पुँजीगत खर्च बिनियोजन भएका मन्त्रालयले धेरै प्रतिशत प्रगति देखियो तर पुँजीगत खर्च धेरै गर्ने दायित्व बोकेका मन्त्रालयले खर्च नै गर्न सकेनन् । यो चिन्ताको बिषय हो’ उनले भने ।
बजेटमा सरकारी लगानी र वैदेशिक स्रोतका आयोजना र साना आयोजना गरी मन्त्रालयले कार्यक्रम बनाई कार्यान्यन गर्दै आएको तर साना आयोजनालाई वेवास्ता गर्दा जनताले विकासको अनुभुति लिन नपाएको उनको भनाई थियो ।
कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रमको समयसीमा बारे अझै बुझ्न नसक्दा कार्यान्वयनमा जटिलता थपिएको उनले बताए । ‘कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रम अझै बुझेका छैनन् । कार्यक्रम सकिन कति समय लाग्छ भन्ने यकिन नै भएको छैन । २ बर्ष लाग्ने कार्यक्रमलाई एक वर्षे योजनामा राखिएको छ’ उनले भने ‘अनुसन्धान र तयारी नगरी बजेटमा कार्यक्रम राख्दा यस्तो समस्या देखिएको हो ।’
अर्थमन्त्री शर्माले बजेट कार्यक्रममा अधिकांश मन्त्रालयल अलमलिन थालेको र स्थानीय तह वा प्रदेशले गर्ने कामसमेत संघीय बजेटमा समावेश गर्ने गरेको बताए ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कमजोर पुँजीगत खर्च गर्ने प्रवृत्तिबाट आफु निराश भएको बताए । ‘भएको बजेटको कार्यान्वयन हेर्यो भने २० प्रतिशत पनि पुगेको छैन तर थप बजेटको माग गर्ने स्थिति हेर्यो भने बिकराल छ’ उनले भने , ‘अहिले भएकै बजेटलाई व्यापक उपयोग गर्नुस् ।’ उनले भएको बजेटको कार्यान्वयन गर्न र थप बजेट माग गरेर क्षमता भन्दा बढी काम गर्ने प्रयत्न नगर्न सुझाव दिए ।
बजेट निर्माणमा कमजोरी सुधार्न निर्देशन
बजेट कार्याक्रममा देखिएका समस्या पुरानै भएकाले आगामी बजेट निर्माण गर्दा सबै कमजोरी सुधार गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेका जानकारी दिदै उनले कार्यक्रम बनाएर पठाउनुको सट्टा बजेट कार्यान्वनयमा हालसम्म देखिएका समस्या सुधार गर्ने कार्ययोजना पहिला पेश गर्न निर्देशन दिए
‘जति सिलिङ तोकिएको छ, त्यहींअनुसार बजेट बनाउनुस् । तर, पहिले आफुहरुबीच छलफल गरेर बजेट कार्यान्वयनमा देखिएका समस्या पहिल्याउनुस् । अहिलेसम्मको समस्या नदोहोरिने सुझाव के हुन् भन्ने कुरा एक हप्ताभित्र अर्थमा सबैले पठाउनुस्’ उनले निर्देशन दिदै भने ।
उहाँले अध्ययन र पूर्वतयारी गरेर मात्रै बजेटमा कार्यक्रम समावेश गर्न निर्देशन दिए ।