काठमाडौं । केही दिनअघि प्रमुख प्रतिपक्ष दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै भने, ‘अर्थमन्त्री गजबकै पाउनुभएको छ । आगामी चुनावसम्म अर्थमन्त्रीका रूपमा जनार्दन शर्मा नै राख्नुहोला । भारी मतले चुनाव जित्नु छ ।’
‘अर्थमन्त्री शर्माले जसरी अर्थतन्त्र चलाएका छन्, यही तथ्यलाई जनतासामु लगेर चुनाव जितेर आउनु छ’, शर्माले प्रधानमन्त्री देउवालाई व्यङ्ग्य गर्दै भनेका थिए, ‘त्यही भएर मेरो तपाईंलाई शुभकामना छ । शर्मालाई वैशाखसम्म नचलाउनुहोला ।’
अर्थतन्त्र अत्यन्तै गम्भीर मोडमा पुगिसक्दा पनि प्रधानमन्त्री देउवाले कुनै चासो नदिएपछि ओलीले यसरी कटाक्ष गरेका हुन् । ओलीका विश्वासपात्र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको वास्तविक अवस्थाबारे ओलीलाई पूर्ण जानकारी गराएका छन् । अर्थतन्त्र कुन दिशातिर जाँदैछ भन्ने कुरा खतिवडामार्फत ओलीले राम्रोसँग बुझेका छन् । त्यही भएर उनले देउवालाई कटाक्ष गरे ।
तर, उनको कटाक्षले कुनै काम गर्न सकेको छैन । देउवाले अर्थतन्त्र जतातिर गए पनि कुनै मतलब दिएका छैनन् । अर्थतन्त्रबारे आफ्ना विभागीय मन्त्री शर्मालाई समेत सोधेका छैनन् । त्यसको एक मात्रै कारण हो– अर्थमन्त्रीको नेक्सस प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल ।
शर्माले दुई व्यक्तिलाई राम्रोसँग रिझाएकाले प्रधानमन्त्री देउवाले समेत अर्थमन्त्री शर्मालाई केही सोध्ने आँट गरेका छैनन् । शर्माले आफू निकटका व्यक्तिलाई आरजु म्याम आफ्नो पक्षमा भएकाले पदबाट हट्ने/हटाउने सम्भावना नरहेको बताउँदै हिँडेका छन् । त्यसका अलवा शर्मासँग अहिले माओवादी अध्यक्ष दाहाल पनि नजिक छन् । दुई शक्तिशाली व्यक्तिको साथ पाएकै कारण उनले अर्थतन्त्रलाई तहसनहस बनाउन लाग्दा पनि कोही कसैले सोध्ने आँट नगरेको देउवानिकट एक नेताले बताए ।
शर्माले राणालाई अनेकन तवरबाट खुसी पारेका छन् । त्यही भएर राणा पनि उनको पक्षमै देखिएको ती कांग्रेस नेताको बुझाइ छ ।
अर्थतन्त्रमा देखिएको संकटको कालो बादल घटाउनभन्दा पनि केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गाली गर्नमै समय व्यतित गरिरहेको अर्थ मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।
यस्तै गभर्नरले ब्याज बढाइदिएर यो सरकारको बदनाम गराउन थालेको भन्दै अर्थमन्त्री हिँडिरहेका छन् ।