नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले परिसंघ र नेपाल नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक तथा औद्योगिक विकासका लागि विगत समयदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै नयाँ कार्यसमितिसँग थप सहकार्यका लागि तयार रहेको बताए ।
अध्यक्ष मोरले कतिपय नयाँ कानुनी व्यवस्था तथा सम्वादको कमीले लगानी तथा व्यापारका क्षेत्रमा समस्या बढ्दै गएकाले आर्थिक पत्रकारहरुसँगको सहकार्यले समाधानमा सकारात्मक पहल हुने विश्वास समेत व्यक्त गरे ।
यसैगरि अध्यक्ष मोरले परिसंघ र सरकारको आयोजनामा यहि भदौ २५ र २६ गते काठमाडौमा हुन लागेको नेपाल पूर्वाधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । सम्मेलनको अहिलेसम्मको तयारी हेर्दा, नेपालको पूर्वाधार क्षेत्रमा यो सम्मेलनले नीतिगत रुपान्तरण र लगानी आकर्षण गर्न सफल हुने विश्वास पनि अध्यक्ष मोरले व्यक्त गरे ।
सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीमप्रसाद गौतमले नीतिगत विषयमा आपसी अन्तक्र्रिया बढाएर आर्थिक विकास तथा व्यावसायिक वातावरण बनाउन थप सहकार्य गर्न सकिने बताए । यसैगरि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा परिसंघसँग सेजनले सहकार्य गर्न चाहेको पनि अध्यक्ष गौतमले उल्लेख गरे ।
सोहि अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले व्यावसायिक वातावरणमा देखिएको विश्वासको संकट तथा सम्वादहिनतालाई कम गर्न सेजनसँग परिसंघको सहकार्य सघन बनाउदै लैजानु पर्ने बताए ।
सेजनका महासचिव सुजन ओली, उपाध्यक्ष सरु ढकाल र कार्यसमिति सदस्यहरुले आर्थिक विषयका नीतिहरुमा विभिन्न पक्षहरु बीच नीतिगत सम्वाद बढाएर आर्थिक विकास तथा व्यवसायीक वातावरण सुधारमा मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
सोहि अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सेजनसँग आर्थिक नीतिहरुमा छलफल चलाउन र आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा परिसंघले सहकार्य गर्न तयार रहेको बताए ।
विश्वव्यापि तथा क्षेत्रीय अर्थतन्त्रमा देखिन थालेको मन्दिबाट नेपालमा पर्ने प्रभावका बारेमा अहिलेदेखि नै सचेत गराउन पनि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको पनि उपाध्यक्ष अग्रवालले उल्लेख गरे ।