काठमाडौं । भारतको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन भएको छ ।
नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो ।
उक्त अस्पताल २ करोड २६ लाख रुपैयाँमा निर्माण गरिएको हो । भारतले आफू स्वतन्त्र भएको ७५ वर्षको उत्सवका अवसरमा अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत उक्त अस्पताल बनाइएको हो । सो महोत्सवअन्तर्गत नेपालमा ७५ वटा परियोजनाहरु सञ्चालन भइरहेका छन् । उक्त अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पुग्ने विश्वास गरिएको छ ।
१५ शय्याको क्षमता भएको यस अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न प्रसूति कक्ष, चौबीसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । जसमध्ये ४ सय ६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये भोजपुरका ४ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारतले भोजपुर जिल्लामा हालसम्म ३ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरिसकेको छ ।
कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवं बलियो विकास साझेदारीको प्रमाण भएको बताए । मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका छन् ।