म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
३५ लाख ८१ हजार ४६९ रूपैयाँको लागतमा निर्माण भएको सो पुलबाट ५४ घरधुरीका ५९४ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष डप्रसाद शेरपुजाले बताए । यो पुलबाट पाखापानी, कोटगाउँ, रायखोर, कुइने, भेडिखाल्टा, मल्कवाङ र खिवाङका बासिन्दालाई सुविधा पुगेको छ ।
पुल निर्माण भएपछि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको वडाध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिए । मुलपानी खोलामा निर्माण भएको पुलको बिहीबार एक समारोहका बीच वडाध्यक्ष शेरपुजाले उद्घाटन गरे ।
पुल निर्माणमा गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो भने टिबीएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएको थियो । मजदुरको ज्याला, निर्माण सामग्री खरीदको भुक्तानी गाउँपालिकाबाट भएको थियो ।
त्यस्तै घुगङ्गा गाउँपालिका–६ स्थित ठाडाखानीको ठूलोखोलामा पनि ३३ लाख ८० हजार २३६ रूपैयाँको लागतमा ५७ मिटर लामो पुल निर्माण भएको छ । ठूलोखोलाको पुलबाट ठाडाखानीका १०३ घरधुरीका साथै धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने पर्यटक र भक्तजनलाई सहज भएको छ ।
यसवर्ष म्याग्दीमा १३ झोलुङ्गे पुल निर्माण भएको टिबीएसयुका इञ्जिनीयर नरबहादुर तुम्बाहाम्फेले बताए । उनका अनुसार पाँच करोड चार लाख ८० हजार ९८७ रूपैयाँकाे लागतमा अन्नपूर्ण गाउँपालिकामा तीन, रघुगङ्गामा दुई, मालिकामा चार र धवलागिरि गाउँपालिकामा चार पुल निर्माण भएको हो ।
यसबाट तीन हजार ६८८ घरधुरीका २० हजार ४३३ जनसङ्ख्या लाभान्वित भएका मिलन म्याग्दीका सामाजिक सुपरीवेक्षक रिजन तिलीजाले बताए । सबै पुलको लम्बाइ ८१७ दशमलव ७५ मिटर छ । धवलागिरि गाउँपालिकाको ठूलोखोला, खवाङखोला, पहिरेनीखोला र कातीखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
मालिका गाउँपालिकाको खहरेखोला, छेरवाङखोला, पात्लेखोला र शिवरात्रिखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मङ्गला गाउँपालिकाको काफलचौर र जुगेपानी झोलुङ्गे पुल निर्माणाधीन छन् । अन्नपूर्ण गाउँपालिकाको दोसल्ले र नारच्याङमा पल्लो घलेम्दीखोलामा पुल बनेको छ ।
हिस्तान र राम्चेको सिमानामा पर्ने मर्नाखोलाको पुल मर्मत भएको छ । अघिल्लो वर्ष म्याग्दीमा ११ झोलुङ्गे पुल निर्माण भएका थिए । सडक सुविधाको पहुँचदेखि टाढा रहेका दुर्गम बस्तीमा आवतजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेका छन् ।