पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले महिलालाई उद्यमशील बनाउन प्रदेश सरकारले सोही अनुरूपका कार्यक्रममा जोड दिएको बताए ।
पोखरामा आईडीटी (एकीकृत विकास तथा रूपान्तरण नेपाल) को आयोजना तथा अमेरिकी दूतावासको सहयोगमा महिला पर्यटन व्यवसायी (ओटेफ) का सदस्यहरुका लागि आयोजित २१ दिने अंग्रेजी भाषा तालिमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले महिलाको क्षमता दक्षता र सीपको पहिचान गरी ‘सक्षम पाइला, उद्यमी महिला’ भन्ने कार्यक्रममार्फत प्रदेशका महिलालाई आर्थिक स्ववालम्बन बनाउने कार्यक्रम तय गरेको बताएका हुन् ।

उनले महिलाको सीप र दक्षतालाई चिन्न सके आर्थिक समृद्धि हासिल हुन सक्ने बताए । मन्त्री श्रेष्ठले पोखरा पर्यटकीय सहर भएकाले विश्वमा धेरैले बोल्ने माध्यम भाषा अंग्रेजी भएकाले पनि यस भाषाको तालिमले यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारीले पर्यटन क्षेत्रमा प्रभावकारी संवादका लागि अंग्रेजी भाषा तालिम आवश्यक रहेको बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपश्चात् अन्तर्राष्ट्रिय देशहरुसँग जोडिने भएकाले पनि पर्यटकसँग प्रभावकारी संवाद लागि अंग्रेजी भाषाको महत्व रहेको बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नवीन पोखरेलले प्रतिस्पर्धाको युगमा आफ्ना सेवा एवं उत्पादन बेच्नका लागि पनि प्रभाकारी भाषाको खाँचो रहेको औंल्याए । अधिकांश पर्यटकले बोल्ने बुझ्ने अंग्रेजी भाषालाई व्यवसायी महिलाले सिकेर दोहोरो संवाद गर्न सके पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
अमेरिकी राजदूतावासका क्षेत्रीय अंग्रेजी भाषा अधिकृत डा. नविला मेसोमीले नेपालको पर्यटन विकासका लागि अमेरिकी राजदूतावास निकै कटिबद्ध रहेको बताए । उनले अंग्रेजी भाषा तालिमले पोखराको पर्यटनलाई विकास गर्न सघाउ पुर्याउने बताए । उनले भने, “मानिसले तपाईंले के भन्नुभयो बिर्सिन्छन् तर, तपाईंले कस्तो अनुभव गराउनुभयो त्यो सदैव सम्झन्छन् ।” प्रभावकारी कम्युनिकेसनले गलत सञ्चार हुनबाट रोक्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पर्यटन क्षेत्रमा इशाराले नभई पर्यटक र पर्यटन व्यवसायीबीच प्रभावकारी सेवा प्रवाह र पर्यटकको सन्तुष्टिका लागि बुझिने भाषामा दोहोरो संवाद आवश्यक हुने बताए । उनले अंग्रेजी भाषा तालिमले दोहोरो संवादमा देखिने समस्या न्यूनीकरण हुँदा पर्यटकले पोखरा बसाइलाई सहज र स्मरणयोग्य बनाउन सक्ने बताए ।
कार्यक्रमा आईडीटीका प्रशासनिक अधिकृत सुदीप गौतमले यस तालिमबाट दीर्घकालीन विकास लक्ष्यलाई पनि सघाउन मद्दत पुग्ने बताए । उनले पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन २.३ प्रतिशतबाट १० प्रतिशत पुर्याउने, साथै यस क्षेत्रको रोजगारी १ लाखबाट बढाएर ३ लाख ८२ हजार सम्म पुर्याउने र पर्यटकको बसाइ १५ दिनसम्म लम्बाउन सक्ने लक्ष्य लिएको जानकारी दिए ।
कार्यक्रममा पोखरा–१७ का वडा अध्यक्ष जीवन आचार्य, कार्यक्रम संयोजक मधुकर पाण्डे, कार्यक्रम विशेषज्ञ विश्वराज गौतम लगायतले पर्यटन क्षेत्रमा अंग्रेजी भाषाको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा ओटेफका अध्यक्ष पार्वती पाण्डेले विदेशी पर्यटकसँग दोहोरो संवादका लागि भाषामा धेरै हुने गरेको जनाउँदै यस्ता समस्यालाई न्यूनीकरण गर्न अंग्रेजी भाषा तालिमले सघाउ पुर्याउने बताए । उनका अनुसार तालिममा पर्यटनका विभिन्न पेसा व्यवसायमा आबद्ध २५ जना व्यवसायी महिला तालिममा सहभागी हुने जानकारी दिइन् ।