नेपालमा बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइ बहुमतसहित बलियो सरकार बनेको छ। सरकार गठन भएको एक महिनाभन्दा बढी समय बितिसकेको छ। जनताले यस्तो सरकारबाट केवल राजनीतिक स्थिरता मात्र होइन, परिणाममुखी शासन, तीव्र निर्णय क्षमता र दीर्घकालीन सुधारको अपेक्षा गरेका छन् ।
पाँच वर्षका लागि स्थिर जनादेश पाएको सरकारसँग बहाना गर्ने ठाउँ कम हुन्छ र काम गर्ने अवसर धेरै हुन्छ। विगतमा अस्थिर सरकार, बारम्बार फेरिने नेतृत्व र नीति निरन्तरताको अभावलाई विकास नहुनुको कारण बनाइन्थ्यो। अब त्यो कारण हटेको छ। अब प्रश्न एउटै हो—यो बलियो सरकारले देशलाई कुन दिशामा लैजान्छ?
यदि सरकार साँच्चै परिवर्तनकारी बन्न चाहन्छ भने सुरुवात जनताले प्रत्यक्ष महसुस गर्ने क्षेत्रमा हुनुपर्छ। पर्यटनमा नेपालको छवि सुधार, ठूला पूर्वाधारको उपयोग, र कृषिमा मल सुरक्षाजस्ता विषय तुरुन्त परिणाम दिन सक्ने क्षेत्र हुन् । यही आधारमा आगामी पाँच वर्षको सफलताको जग बस्न सक्छ।
विमानस्थलमै सम्मान देखियो भने देशको छवि बदलिन्छ
नेपाल संसारभर प्रकृति, संस्कृति र आत्मीयताले चिनिएको देश हो। तर यहाँ आउने धेरै पाहुनाको पहिलो अनुभव देशको मुख्य प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तय हुन्छ। हाल यात्रु व्यवस्थापन, जाँच प्रक्रिया र व्यवहारसम्बन्धी धेरै गुनासा सुनिन्छन् ।
विदेशबाट फर्किएका नेपालीदेखि विदेशी पर्यटकसम्म अनावश्यक झन्झट, कठोर शैलीको सोधपुछ, लामो प्रतीक्षा र अपमानबोध हुने व्यवहारको चर्चा बारम्बार उठ्ने गरेको छ। सुरक्षा आवश्यक छ, तस्करी नियन्त्रण आवश्यक छ, तर सम्मान गुमाएर गरिने सुरक्षा दीर्घकालीन समाधान होइन।
दुई तिहाइको बलियो सरकारले पहिलो वर्षमै विमानस्थल सुधार अभियान सुरु गर्न सक्छ। आधुनिक जाँच प्रविधि, जोखिममा आधारित निगरानी, यात्रु सेवा तालिम, छिटो प्रक्रिया र स्वागतपूर्ण वातावरण निर्माण गर्न सकिन्छ। नेपाल आउने पर्यटकले पहिलो घण्टामै राम्रो अनुभव पाए भने त्यसले पर्यटन प्रचारमा करोडौँ खर्च गरेभन्दा बढी प्रभाव पार्छ। एउटा राम्रो आगमन अनुभवले देशको छवि बनाउँछ, खराब अनुभवले बिगार्छ।
पोखरा र भैरहवा विमानस्थललाई अब चलाउनैपर्छ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण राष्ट्रका ठूला लगानी हुन् तर संरचना बनेर मात्र विकास हुँदैन, सञ्चालन र उपयोगबाट मात्र प्रतिफल आउँछ। एक महिना बितिसकेको सरकार अब यी विमानस्थललाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। अन्तर्राष्ट्रिय वायुसेवालाई केही वर्ष अवतरण तथा पार्किङ शुक छुट दिने, यात्रु ल्याएबापत प्रवद्र्धन सहायता दिने, र पोखरा तथा भैरहवाबाट प्रवेश गर्ने पर्यटकलाई विशेष सुविधा दिने नीति तत्काल ल्याउन सकिन्छ।
साथै स्थल सेवा, इन्धन आपूर्ति, व्यापारिक क्षेत्र र सञ्चालन व्यवस्थापन निजी साझेदारी मोडलमा दिन सकिन्छ। यसले सेवा स्तर सुधार्ने, सरकारको बोझ घटाउने र आम्दानी बढाउने काम गर्छ। यदि यी दुई विमानस्थल चलायमान भए भने काठमाडौंमाथिको चाप घट्छ, प्रदेशस्तरमा रोजगारी बढ्छ, होटल, यातायात र स्थानीय व्यापार चलायमान हुन्छ।
कृषि क्षेत्रमा सबैभन्दा ठूलो सुधारः मलको सुनिश्चितता
नेपाल कृषि प्रधान देश भए पनि किसानको सबैभन्दा ठूलो पीडा समयमै मल नपाउनु हो। बाली लगाउने बेला किसान लाइनमा बस्नुपर्ने, कालोबजारी सहनुपर्ने र सीमापार भर पर्नुपर्ने अवस्था वर्षाैदेखि दोहोरिएको छ।
स्थिर सरकारसँग अब पाँच वर्ष समय छ। यो अवधिमा कृषि क्षेत्रमा सबैभन्दा ठूलो उपलब्धि देशभित्रै रासायनिक मलको मिश्रण तथा प्याकेजिङ उद्योग स्थापना हुन सक्छ। बीरगञ्ज र बिराटनगरमा सार्वजनिक–निजी साझेदारीमार्फत यस्ता उद्योग खोल्न सकिन्छ।
सरकारले न्यूनतम खरिदको प्रत्याभूति दिने, उचित मूल्य निर्धारण गर्ने र निजी लगानीलाई दीर्घकालीन नीतिगत सुरक्षा दिने हो भने उद्योग स्थापना सम्भव छ। यससँगै कम्तीमा तीन महिनाको रणनीतिक मल भण्डारण व्यवस्था गर्नुपर्छ। यसले अन्तर्राष्ट्रिय आपूर्ति संकट वा सीमामा समस्या हुँदा पनि किसानलाई राहत दिन्छ।
अब अध्ययन होइन, कार्यान्वयन चाहिन्छ
नेपालमा धेरै विषयमा समस्या अभावका कारण होइन, निर्णयको ढिलाइका कारण छन् । विमानस्थल बने तर उडान आएन। किसान छन् तर मल छैन। पर्यटक आउन चाहन्छन् तर स्वागत प्रणाली कमजोर छ। योजना छन् प्रतिवेदन छन्, तर काम सुस्त छ।
दुई तिहाइ बहुमतको सरकारसँग अब कानून पास गर्ने, नीति परिवर्तन गर्ने, निजी क्षेत्रसँग साझेदारी गर्ने र प्रशासन चलाउने पर्याप्त शक्ति छ। यस्तो अवस्थामा नतिजा नआउनुको कारण खोज्न गाह्रो हुनेछ।
पाँच वर्षको अवसर, पाँच महिनामै संकेत चाहिन्छ
जनताले पाँच वर्षका लागि म्यान्डेट दिएका छन् तर विश्वास प्रत्येक दिन कमाइन्छ। त्यसैले सरकारको पहिलो पाँच महिनामै संकेत देखिनुपर्छ—विमानस्थल सुधार सुरु भयो कि भएन, पोखरा र भैरहवामा उडान बढ्यो कि बढेन, किसानले मल पाए कि पाएनन् ।
यदि यी क्षेत्रमा स्पष्ट सुधार देखियो भने जनविश्वास बलियो हुन्छ। यदि पुरानै ढिलासुस्ती दोहोरियो भने बहुमत भएर पनि परिणाम नआउने निराशा बढ्छ।
बालेन्द्र शाह नेतृत्वको दुई तिहाइ सरकार नेपालको इतिहासमा दुर्लभ अवसर हो। यस्तो बलियो सरकारले चाहे पाँच वर्षमा देशको दिशा बदल्न सक्छ । पर्यटनमा सम्मानजनक स्वागत, पूर्वाधारको उपयोग, र कृषिमा मल सुरक्षा यी तीन क्षेत्रमा तुरुन्त काम गर्न सकियो भने आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ र जनताले स्थिर सरकारको अर्थ महसुस गर्छन् । अब देशलाई भाषण होइन, परिणाम चाहिएको छ। स्थिर सरकार बनेको छ, अब स्थिर उपलब्धि देखिनुपर्छ।