म्याग्दी । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो ।
मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल बनाउन शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले बताए । मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुनलागेको हो ।
भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले छ करोड २४ लाख रूपैयाँमा ठेक्का लिएको छ । फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाख रूपैयाँमा ठेक्का पाएको छ ।
गत साउनमा ठेक्का सम्झौता भएको दुई वटै पुल १८ महीनामा सम्पन्न गर्ने लक्ष्य छ । निर्धारित समयभित्रै पुल बनाइसक्ने बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताए । निर्माण कम्पनीले पुलको फाउण्डेशन (जग) खन्न शुरु गरेका छन् ।
दुईतर्फ एक/एक मिटर फुटपाथ हुने पुलको गाडी गुड्ने भागको चौडाइ छ मिटर हुनेछ । भारवाङघाटको पुल प्रिस्ट्रेस र फेदीको पुल टिबिएम प्रविधिको हो ।
बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजना अन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भए पनि म्याग्दी खोलामा पुल निर्माण हुन नसक्दा प्रयोगमा आउन सकेको छैन । यसको विकल्प मानिएको दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत फेदीखोलामा धवलागिरी गाउँपालिकाले अघिल्लो वर्ष अस्थायी पुल बनाएको थियो ।
दुई वटै पुलले धवलागिरि गाउँपालिकालाई सिधा सडक सञ्जालमा जोड्ने अध्यक्ष थमसरा पुनले बताइन् । ती पुल निर्माणपछि बाह्रै महीना नियमित सवारी सञ्चालन गर्न सकिनेछ ।
यसैबीच पूर्वाधार विकास कार्यालयले दरवाङदेखि फेदी हुँदै धारापानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का प्रक्रियाको तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए ।
कार्यालयले बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङसम्म दुई प्याकेजमा कालोपत्र आयोजना सञ्चालन गर्ने भएको हो । रासस