काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धराशायी नहुने बताएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंकाको जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए ।
‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’, उनले उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।’
नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंकाको जस्तो नहुने उनको भनाइ थियो । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगायतका तथ्यांक हेर्यौं भने श्रीलंकासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एक थरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन् । त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ’ उनले भने ।
श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धराशायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले आग्रह गरेका छन् ।
‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका विषयमा बहस गरी दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउन बहस गरौं’ उनले भने ।