काठमाडौं । भारतमा अहिलेकै बिजुलीको मूल्य कायम रहे नेपाल विद्युत प्राधिकरणले वर्खाको बिजुली बेचेर झण्डै २९ अर्ब रुपैयाँ आम्दानी गर्ने देखिएको छ । भारतको इनर्जी एक्सचेन्ज मार्केटमा अहिले बिजुलीको भाउ प्रतियुनिट १२ भारु छ ।
भारतमा बिजुलीको भाउ बढेकाले वर्खामा बढी भएको बिजुली बेचेर विद्युत प्राधिकरणले ठूला लाभ पाउने संभावना रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । भारतमा रहेको अहिलेको मूल्य आगामी दिनमा कायम रहे प्राधिकरणले लाभ लिन सक्ने उनको भनाई छ ।
कार्यकारी निर्देशक घिसिङका अनुसार नेपालले भारतको ऊर्जा मन्त्रालयबाट ३६४ मेगावाटको स्वीकृति पाए पनि डीएसममार्फत थप ४८ मेगावाट निकासी गर्न पाउने छ । ३६४ मेगाावटको क्लियरेन्स पाए पनि ४२५ मेगावाटसम्म बिजुली निर्यात गर्न सक्ने कुलमानले जानकारी दिए ।
त्यसबाट ४ प्रतिशत प्रसारण लाइन १३ मेगावाट चुहावट घटाएर प्राधिकरणले औसत ४१२ मेगावाटको भुक्तानी पाउने छ । यो परिमाण बिजुली बेचेर दिनको १९ करोड १६ लाख आम्दानी हुने छ । यस्तै महिनाको ५ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
जुलाइपछि नोभेम्बरसम्म ५ महिनामा बिजुली बेचेर प्राधिकरणको २८ अर्ब ७४ करोड रुपैयाँ आम्दानी हुने घिसिङले बताए । यो रकम डलर हो । यसले शोधानान्तर घाटा कम गराउन सघाउन पुर्याउने छ । अहिलेको बिजुलीको भाउले दुबै देशतिर अवसर सिर्जना गरेको उनी बताउछन् ।
उनले जुन (जेठ १५) देखि नोभेम्बर (मंसिर १५) सम्म ६ महिना बिजुली निर्यातको तयारी गरेको उनले सुनाए । अहिले सुक्खाका कारण भारतबाट औसत ३०० मेगावाट बिजुली प्रतियुनिट १२ भारुसम्म तिरेर आयात भइरहेको उनले जानकारी गराए ।
जेठपछि नेपालमा बिजुली उत्पादन बढ्ने भएकाले झण्डै माथिल्लो तामाकोसी आयोजना बराबरको बिजुली भारतमा निकासी गर्ने तयारी प्राधिकरणको छ । थप बिजुली निकासीका लागि अहिले पहल भइरहेको छ ।
‘अहिले बढी मूल्य तिरेर बिजुली किनिरहेका छौं । अब जेठदेखि बिजुली भारतमा निर्यात गरेर यसको लाभ उठाउन सक्ने देखिएको छ’ उनले भने ‘जुनदेखि नोभेम्बरसम्म प्राधिकरणले २४ सैं घण्टा औसत ४०० मेगावाट बिजुली भारतमा बेच्न सक्ने छ ।’ रु
स–युक्रेन युद्धका कारण कोइला आपूर्ति बन्द भएपछि अहिले भारतमा हाहाकार भएको छ । कोइला आपूर्ति कम भएपछि भारतमा बिजुली उत्पादन घट्नुका साथै भाउ आकासिएको छ ।
भारतमा ८० प्रतिशत ऊर्जा कोइलबाट उत्पादन हुने गरेको छ । यस्तै दुई देशबीचको युद्ध अझ लम्बिएमा भारतमा बिजुलीको भाउ अझै बढ्ने संभावना रहेको कुलमानले सुनाए । हाल भारतमा उद्योगलाई दिने बिजुली कटौति हुनुका साथै कतिपय राज्यमा लोडसेडिङ भइरहेको छ ।