काठमाडौं । नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट हुने कारोबारलाई प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आरटीजीएसबाट कसरी करोबार गर्ने वा हुन्छ भन्ने बुझाउन राष्ट्र बैङ्कले सो कारोबारलाई प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
आरटीजीएस प्रणाली आगामी बिहीबारदेखि लागू हुँदैछ । सोही अवसर पारेर राष्ट्र बैङ्कले लाइभ गर्न लागेको हो । आरटीजिएस प्रणालीको उद्घाटन भने आगामी आइतबार (भदौ २९ गते) राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्दैछन् ।
यो प्रणाली बिल्कुलै प्राविधिक र नयाँ भएकाले बैङ्क तथा वित्तीय संस्थादेखि सर्वसाधारणसम्मलाई पर्याप्त मात्रामा जानकारी दिन लाइभ प्रसारण गर्न लागिएको राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । आरटीजीएस लागू भएपछि चेकको क्लियरिङ गर्नुपर्दैन । र, एक बैङ्कबाट कुनै अर्काे व्यक्तिको नामको खातामा पैसा तुरुन्तै पठाउन सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
एउटा निवेदन दिएपछि बैङ्कले बिनाझन्झट एक खाताबाट अर्काे बैङ्कको खातामा तुरुन्तै पैसा पठाइदिन्छ । यसरी एक बैङ्कले रकम पठाउनेबित्तिकै अर्काे बैङ्कले तुरुन्तै सो रकम सम्बन्धित खातावालालाई भुक्तानी गर्छ । यो प्रणाली लागू भएपछि चेकको झन्झट कम हुने, समयको बचत हुने तथा बैङ्किङ प्रणालीमा देखापरेका साइबर अपराधसम्बन्धी समस्याबाट पनि बच्न सकिने राष्ट्र बैङ्कको भनाइ छ ।
राष्ट्र बैङ्कले गत शुक्रबार बैङ्क तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै आरटीजीएस प्रणालीमा आउन भनेको थियो । राष्ट्र बैङ्कले विकास बैङ्कहरुलाई भने पुस मसान्तसम्म यस प्रणालीमा आउन भनेको छ ।
यो प्रणालीबाट प्रायः उद्योग व्यवसायीले लाभ लिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । प्रणालीमा २० लाखभन्दा माथिको कारोबार समावेश हुने भएकाले ठूला आर्थिक कारोबार गर्ने तथा उद्योग व्यवसायीलाई फाइदा हुने राष्ट्र बैङ्कले जनाएको छ ।
आरटीजीएस प्रणाली साइबर सुरक्षाका हिसाबले सुरक्षित छ कि छैन भनेर राष्ट्र बैङ्कले प्राविधिक टोलीको सहयोगमा परीक्षण गरिरहेको छ ।
गत सोमबारसम्म सञ्चालनमा रहेका २८ ओटै वाणिज्य बैङ्कहरु यस प्रणालीमा आइसकेका छन् ।