काठमाडौं । बिजुली नपाएर उद्योग बन्द गर्नुपर्ने अवस्था आउँदा पनि अर्थसचिव मधुकुमार मरासिनीले यसलाई सामान्य समस्या भएको बताएका छन् ।
४ महिनादेखि उद्योगमा विद्युत्को संकट र गुणस्तरलाई लिएर चौतर्फी चासो भइरहेका बेला अर्थसचिव मरासिनीले सामान्य समस्या भन्नु अर्थ मन्त्रालयल उद्योगीको समस्या प्रति गम्भीर नभएको स्पष्ट भएको छ ।
उनले बिजुलीको समस्या सामान्य भएको र यसलाई अतिरिञ्जित नगर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् । मागेजति बिजुली नपाएपछि अहिले उद्योगले पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।
बिजुली आपूर्ति घटेपछि उद्योगको उत्पादन क्षमतामा पनि ह्रास आएको छ । यस्तो अवस्था आउँदा पनि अर्थसचिवले हल्का टिप्पणी गरेर उद्योगीमाथि समस्यानै नभएको उजागर गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजधानीमा आयोजना गरेको पूर्वबजेट अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थसचिव मरासिनीले विद्युत्को समस्या सामान्य भए पनि निजी क्षेत्रले बढी उचालेको दाबी गरे ।
‘अहिले छिटफूट रुपमा समस्या देखिएको हो, तर हाम्रा निजी क्षेत्रका साथीहरुलाई बर्बाद नै भयो भन्ने तरिकाबाट विषयलाई उठाइरहनु भएको छ,’ उनले भने, ‘त्यो ठीक भएन ।’
अहिले उद्योगहरुले बिजुली नपाएको ४० घण्टा बढी भइसकेको छ । डिजेट ल्याएर जेनेरेट चलाएर उत्पादन गर्न सक्ने अवस्था छैन । नेपाल विद्युत् प्राधिकरण बिजुली दिन नसकेपछि व्यवसायी विरोधमा उत्रिएका छन ।
उद्योगी/व्यवसायी विरोधमा उत्रिएपछि मसासिनीले त्यसतर्फ लक्षित गर्दै बिजुलीको समस्यालाई ठूलो नबनाउन निर्देशन दिएका हुन् । अहिले वीरगञ्ज, विराटनगर, भैरहवा, बालाजु औद्योगिक क्षेत्रका उद्योगले बिजुली नपाएको ४० घण्टाभन्दा बढी भइसकेको छ । तैपनि विद्युत प्राधिकरण र सरकार समस्या समाधान गर्न नलागेको उद्योगीहरु बताउँछन् ।
मरासिनीले बिजुलीको समस्या समाधान गर्न लाग्नुको साट्टो उल्टै व्यवसायीलाई विषय नउचाल्न भने । अझै पनि सरकार भारतबाट थप बिजुली किनेर अहिलेको समस्या समाधान गर्नतर्फ अग्रसर भएको मरासिनीले बताए ।
कार्यक्रममा अर्थसचिव मरासिनीले अर्थ मन्त्रालय बजेट बनाउन लागिपरेको र करका दर भन्दा पनि दायरा विस्तारका क्षेत्रहरु खोजिगरिरहेको जानकारी दिए । राजस्वले चालू खर्च मात्रै धानेको र विकास गर्न ऋण खोज्नुपरिरहेको मरासिनीले बताए ।
पिकआवरमा अझै पनि ३०० मेगावाट बिजुली भारतबाट आयात गर्नुपर्ने विद्युत प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा दैनिक न्यूनतम १२ घण्टा लोडसेडिङ हुने जानकारी गराइसकेका छन् । यो समस्या वैशाखमा मात्र रहेको घिसिङको भनाई छ ।