काठमाडौं । राजधानीका सडक, चोक र नदी किनारमा फोहाेर थुप्रिँदा त्यो फेरि काठमाडौं उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ । राजधानीमा विगत चार महिनादेखि फोहाेरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहाेर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ ।
मानिस दैनिक फोहाेरको थुप्रो पार गरेर संघीय राजधानी काठमाडौंमा यात्रा गर्न बाध्य छन् । राजधानीका जम्मा भएको फोहाेरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका बागमती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक जग्गामा थुपारिएको छ ।
यसरी थुपारिएको फोहाेर सीधै नदीमा मिसिने गरेको वातावरणका विषयमा अनुसन्धानमा लाग्नुभएका गोदावरीका अशोक महर्जनले बताए। पछिल्लो समय राजधानीको फोहाेर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीले लैजान नदिएपछि राजधानी दुर्गन्धित बनेको हो । सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहर थुप्रिएको छ । मास्क लगाएका मानिस पनि फोहाेरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ ।
सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थलमा फोहर गर्नेलाई कानुनी कारबाहीको दायरमा नल्याएसम्म फोहरको समस्या समाधान हुँदैन । पछिल्लो समय अभियानकर्मीले फोहर फाल्नेलाई कानुनी कारबाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन् ।
बागमती सफाइ महाअभियानको ४७३ औं हप्तामा पनि नदी किनारमै फोहाेर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहाेरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी रहेका छन् । फोहाेर नउठे पनि वाग्मती सफाइ महाअभियानले शनिबार ४७३औं हप्ताको सफाइ कार्यक्रम जारी राख्यो । सफाइबाट चार मेट्रिक टन फोहर उठाइएको छ ।
उठाइएको फोहाेर लिन काठमाडौं महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहर कार्यालयनजिकको खाली ठाउँमा राखिएको छ । कुहिने फोहर भने नदी किनारमै छोड्ने गरिएकाले एकपटक जम्मा गरिएको फोहाेर व्यवस्थापन गर्न नपाउँदा फेरि नदीमै मिसिन थालेको छ ।
फोहाेर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीकै भनाइ छ । तैपनि अभियानकर्मी शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ नदी सफाइमा सक्रिय हुँदै आएका छन् ।
नदी किनारबाट फोहाेर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका सफाइ अभियानकर्मी डा माला खरेल जानकारी दिए ।
यसबीचमा केही समयमात्र फोहर उठेको छ । टिपेको फोहर व्यवस्थापन नहुँदा हिँड्दैछ पाइला मेट्दैछ भने झैं नदी फेरि प्रदूषित हुनेक्रम चलिरहेको छ । महाअभियानले सफाइका क्रममा जम्मा भएको नकुहिने फोहर व्यवस्थापन गरे पनि राजधानीवासीका घर–घरमा जम्मा भएको फोहाेर नदी किनारमा थुपारिरहँदा नदीमा जति सफाइ गरे पनि फोहरमुक्त बनाउन नसकिने अवस्थामा पुगेको अभियानकर्मी खरेलले सुनाए ।
शनिबार सिनामंगलको गुह्येश्वरी माध्यमिक विद्यालय परिसरअघिको नदी किनारमा गरिएको सफाइमा सयौं अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले बताए ।
सफाइका क्रममा नदी किनारमा उम्रिएको झाडी फँडानी गर्नाका साथै घरदैलो गरी चेतना जागरण पनि गरिएको उनको भनाइ छ । जतिपटक आम मानिसमा जागरण फैलाए पनि फोहाेरलाई राजधानीवासीले वर्गीकरण नगर्दा पनि व्यवस्थापनमा समस्या आउने गरेको छ । कुहिने फोहरलाई घरमै जैविक मल बनाएर कौसीमा तरकारी खेती गर्न सकिने भए पनि धेरैको यसतर्फ ध्यान जान सकेको छैन ।
नौ वर्षदेखिको सफाइ अभियानले सार्थक भएन
नौ वर्षदेखि वाग्मतीलगायत राजधानीका नदी सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी पनि सफाइ अभियान पनि सुरु गरिएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । राजधानीमा जति स्थानमा सफाइ भए पनि फोहर व्यवस्थापन नहुँदा अभियानबाट केही हुन नसकेजस्तो सन्देश गएको छ ।
यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १ सय ९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । गुह्येश्वरीमाथिको बागमतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ अभियान चलिरहेको जनाइएको छ ।
ललितपुरको गोदावरी र भक्तपुरको हनुमन्ते खोलामा पनि सफाइ अभियान जारी छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन गर्नु स्थानीय सरकारकै दायित्व भए पनि यसमा रुचि देखाइएको छैन ।
देशको राजधानी काठमाडौं उपत्यकामा चार महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौंमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ । यसले पर्यटन व्यवसाय धराशायी बन्ने चिन्ता बढाएको छ ।
पछिल्लो समय पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहोर व्यवस्थापनमा समस्या आएको गुनासो बढ्न थालेको छ । फोहोर व्यवस्थापनमा स्थानीय सरकार मौन बसेका छन् । फोहोर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौं उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहाेर फाल्न थाल्दासमेत स्थानीय सरकार मुकदर्शक बनेका हुन् ।
स्थानीय सरकार फोहाेर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका थिए ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेनन् ।स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि राजधानी काठमाडौंमा फोहाेर व्यवस्थापनको विषयमा बहस चलेको छ ।
महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह पछिल्लो समय फोहाेर व्यवस्थापनका समस्या समाधानका लागि लाग्नुभएको छ । फोहर समस्या समाधान गरेर देखाउने उनको प्रतिबद्धता छ । यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका थिए ।
निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताए। दललाई तिनका प्रतिबद्धता सम्झाउन सचेत नागरिकले दबाबमूलक अभियान जारी राख्नुपर्ने उनको भनाइ छ । महानगर प्रमुख शाहले भने फोहाेर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको र पहिलो कार्यपलिकाको बैठकदेखिकै बहसले देखाएको छ । रासस