काठमाडौं । सञ्चय कोषको आकार ११ प्रतिशत बढेको छ । गत असारसम्म सरकारी र निजी क्षेत्रका गरी ६ लाख कर्मचारीको ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ सञ्चय कोष जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षमा ३ खर्ब १२ अर्ब रुपैयाँ थियो ।
गतवर्ष कोषको आकार ३४ अर्ब रुपैयाँले बढेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । ५८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रशासक गौतमले कोषमा भएको कुल रकम मध्ये ९८ प्रतिशत अर्थात ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा कर्जा लगानी भएको बताए ।
जसमध्ये सञ्चयकर्ता सापटीमा ५३, परियोजना कर्जामा १६, बैङ्कको मुद्दती निक्षेपमा १३ र अन्य क्षेत्रमा ८ प्रतिशत लगानी भएको गौतमले जानकारी दिए ।
गत आवमा ऋण र लगानीबाट गरी २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी भएको थियो । सञ्चयकर्तालाई दिने ब्याज र कोषको सञ्चालन खर्च कटाउँदा ३ अर्ब ७५ करोड रुपैयाँ खुदनाफा भएको उनले जानकारी दिए ।
अघिल्लो आवमा ३ अर्ब ९४ करोड रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको भन्दा गतवर्ष काेषकाे नाफा १९ करोड रुपैयाँले घटेको हो ।
नाफा घटे पनि कोषले सञ्चयकर्तालाई गत वर्षको हारहारीमा १ प्रतिशत लाभांश वितरण गर्न सक्ने छ । गतवर्ष सञ्चयकर्ताबाट लिने र दिनेबीचको ब्याजदर अन्तर (स्प्रेड) दर घटाएको र बैङ्कमा राखेको मुद्दती निक्षेपको ब्याजदरमा आएका कमीले समग्र नाफामा असर गरेको हो ।
गत वर्ष स्प्रेडदर १.५० प्रतिशतबाट ०.२५ बिन्दु प्रतिशत घटाएर १.२५ प्रतिशत कायम गर्दा झण्डै ४५ करोड रुपैयाँ ब्याज आम्दानी गुमाएको छ । कोषले सञ्चयकर्तालाई मात्र १ खर्ब ८० अर्ब रुपैयाँ सापटी दिएको छ ।
सञ्चय कोषले मुद्दती निक्षेपमा बैङ्कबाट १२ प्रतिशतसम्म ब्याज लिइरहेकामा गतवर्ष ९.५ प्रतिशतमा सीमित थियो । मुद्दती निक्षेप पनि साढे ९ प्रतिशत ब्याजदरमा नवीकरण गर्दा ब्याज आम्दानी झण्डै ४५ करोड रुपैयाँ कमी आएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थामा कोषको ७८ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा छ ।