काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले २८२ मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजनाको स्वामित्व खरिद गरेको छ । बीपीसीले राजरत्न होल्डिङस र मर्स्याङ्दी पावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता सेयर खरिद गरेको हो । सो सेयर कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेख गर्ने काम सकिएको बीपीसीले जनाएको छ ।
मर्स्याङ्दी आयोजना बीपीसीको स्वामित्वमा आएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले चिनियाँ कम्पनीसंगको साझेदारीमा सो आयोजना निर्माण हुने जानकारी दिए ।
चीनको एससीआईजी इन्टरनेसनल लिमिटेड, जिङछिङ इन्टरनेसन इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्विक इन्टरनेसनल कम्पनी लिमिटेड र एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट प्राइभेट लिमिटेडको लगानी हुने भएको छ ।
सरकारले बीपीसीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को प्रक्रियामा रहेको बीपीसीले जनाएको छ । बीपसीले चिनियाँ साझेदारीमा आउँदो ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । यी आयोजना बनाउन चीनियाँ कम्पनीहरुले २ अर्ब अमेरिकी डलर अर्थात २ खर्ब रुपैयाँ नेपालमा लगानी गर्ने सम्झौता भएको छ ।
आयोजना बनाउन बीपीसी र चिनियाँ साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट प्राइभेट लिमिटेड स्थापना गरेको छ । यसमा बीपीसीको १९ प्रतिशत स्वामित्व छ ।
यसअघि चिनियाँ साझेदारीमा बीपीसीले ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजनाको स्वामित्व साढे ३ अर्ब रुपैयाँमा खरिद गरेको छ । १४० मेगावाटको मनाङमर्स्याङ्दी आयोजना पनि बीपीसीले चिनियाँ साझेदारीमा बनाउँदै छ ।
बीपीसीले सहायक कम्पनीमार्फत ३० मेगावाटको न्यादी र ३६ मेगावाटको कावेली ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
