काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १ हजार २ सय ५२ मत खसेकोमा पौडेलले ९ सय ६४ मत ल्याएका हुन् ।
लोकतान्त्रिक बैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापकसमेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा जित हासिल गरेका हुन् ।
यसअघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाडौंको असार १८ मा भएको आन्तरिक प्रतिस्पर्धामा जित हासिल गर्दै पौडेल डीएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए ।
न्यायालयलाई जिम्मेवार बनाउँदै पारदर्शी कायम गर्नका साथै पेसागत मर्यादालाई स्थापित गराउँदै सामूहकि शुद्धताको भावनालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । अग्रजलाई सम्मान, युवालाई उचित स्थानको भावना अनुरुप आफ्नो टीमले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने उनको भनाइ छ ।

पौडेलसँगै बारको सबै पदाधिकारी डीएलबाट नै निर्वासचत भएका छन् । उपाध्यक्षमा डीएलएकै पुरुषोत्तम अधिकारी विजयी भएका छन । त्यसैगरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् ।
महिला सदस्यहरुमा उमादेवी प्रसाई र गीता श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनील थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दीपककुमार साह निर्वाचित भएका छन् ।
योसँगै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनमा डिएलएकातर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षसम्म रहनेछ ।