काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने बताएको छ ।
महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, वेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
समजीघाटस्थित भेरी, पारिगाउँस्थित महाकाली, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने महाशाखाको पूर्वानुमान छ ।
यस्तै अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।
आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहावसमेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।