काठमाडाैं। मुक्तिनाथ विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) को रूपमा अनुभवी बैंकर तारा मानन्धरलाई नियुक्त गरेको छ। बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। मानन्धरलाई ४ वर्षको कार्यकालका लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ।
हाल बैंकको सीइओको जिम्मेवारी सम्हालिरहेका प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा समाप्त हुँदैछ। त्यसपछि जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।
नेपाली बैंकिङ क्षेत्रमा परिचित र उत्कृष्ट छवि कमाएका उनी एक अनुभवी र दक्ष बैंकरका रूपमा चिनिन्छन्। उनको बैंकिङ यात्रा साविकको नेपाल बंगलादेश बैंकबाट सुरु भएको हो। त्यसपछि उनले साविकको एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, साविकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत नेपालका विभिन्न प्रतिष्ठित बैंकहरूमा काम गरे। यसरी उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। विशेष गरी, उनी यसअघि नै मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ रहिसकेका हुँदा बैंकको आन्तरिक संरचना, कार्यसंस्कृति र रणनीतिसँग उनी परिचित छन्।
मानन्धर केही समयका लागि बैंकिङ क्षेत्रबाट टाढिएर मिडिया उद्योगमा प्रवेश गरेका थिए। उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको सीइओको रूपमा कार्यरत थिए। तर बैंकिङ क्षेत्रप्रतिको उनको गहिरो लगाव र दक्षताले उनलाई पुनः यही क्षेत्रमा तान्यो। मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिले उनको बहुआयामिक अनुभव र नेतृत्व क्षमतालाई दृष्टिगत गरी सीइओमा नियुक्त गरेको बुझिन्छ।
मानन्धर मुक्तिनाथ विकास बैंककै पूर्वकार्यकारी भएकाले उनको नियुक्तिले बैंकको दीर्घकालीन रणनीति, सुशासन र व्यावसायिक विस्तारमा निरन्तरता मिल्ने अपेक्षा गरिएको छ। बैंकिङ र मिडिया दुवै क्षेत्रको अनुभव बोकेका मानन्धरले डिजिटल बैंकिङ, ग्राहक सम्पर्क र संस्थागत ब्रान्डिङमा नयाँ आयाम थप्न सक्ने अपेक्षा गरिएको छ। नेपाली बैंकिङ क्षेत्रमा दशकौंको अनुभव र विश्वसनीयता बोकेका मानन्धरको यो नियुक्तिलाई बैंकिङ जगतले सकारात्मक रूपमा लिएको छ।