काठमाडौं । नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवी र कलमजीवीका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवी र कलमजीवीको पक्षमा लाग्ने बताए ।
पत्रकारको उन्नतिको बाटो पहिल्याउने गरी काम गर्ने जनाउँदै लम्सालले पत्रकारको आर्थिक, सामाजिकलगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताए । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा प्रेस युनियन सधैँ अग्रमोर्चामा रहने उनको भनाइ थियो ।
‘२०४८ मा गठन हुँदा लोकतन्त्र बचाउने प्रयोजन थियो, अहिले पत्रकारको उन्नति प्रगतिका बाटो पहिल्याउनुपर्ने देखिएको छ’, उनले भने ‘विगतका अधुरा काम पूरा गर्ने चुनौती छन्, हामी देशकै बलियो र असल सङ्गठनका रुपमा विकास गर्नेछौँ ।’
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले बोलेका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्यलाई जिल्ला शाखाले सम्मान गरेको हो ।