काठमाडौं । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९÷८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको छ ।
राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
यही साउन २६ गतेको मन्त्रिपरिषद्र बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ तलबमान र ग्रेड स्वीकार गर्ने बताएका हुन् ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरिएको उनको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर, मर्यादाक्रम अनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरुको तलब २४.२६ प्रतिशत, उपसचिवहरुको २३.३५ र २३.६३ र सचिवहरुको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ नयाँ तलबमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो । नायब सुब्बा र त्योभन्दा तलका कर्मचारीहरुको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलबमान प्रस्ताव गरिएको थियो ।
यता सुब्बाहरुले भने आफूहरुलाई तलबमा विभेद गरेको भन्दै साउन तेस्रो साता सन्चार मन्त्रालयको हलमा भेला भएर पेन डाउन गरेका थिए ।
सोही दिन कर्मचारी ट्रेड युनियनका नेताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानाकर्षण गराएका थिए । उनीहरुसँगको भेटमा मन्त्री शर्माले यो प्रस्ताव लागू नहुने र तबव र मर्यादामा नमिलेका विषय मिलाउन ‘पे कमिसन’ (तलब आयोग) गठन गर्ने बताएका थिए ।