काठमाडाैं । स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको ७ औं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने मेलाबारे विस्तृत जानकारी गराएका हो ।
स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रबद्र्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए । मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आईरहेको छ । ‘‘आफ्नो भन्या आफ्नै हो’’ भन्ने नाराका साथ आयोजना हुन गईरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने मञ्चले जनाएको छ ।
भित्रिँदै गरेको चाडपर्वलाई लक्षित गरेर आयोजना गरिएको मेलामा विभिन्न सास्कृतिक कार्यक्रम पनि हुँदै छ । दशैंको सपिङ पनि गराउने र स्वदेशी उत्पादनको बारेमा जानकारी दिन मेला उपयुक्त थलो भएको पाण्डेले बताए ।
यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिइएको मञ्चले जनाएको छ । त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पु¥याउने अध्यक्ष पाण्डेले बताए । साना व्यवसायीलाई प्रबद्र्धन गर्न करिब १२ जना उद्यमीलाई निःशूल्क स्टलको व्यवस्था समेत गरिएको उनले बताए ।
मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठुला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ । दुई दिन चल्ने एक्स्पोमा २० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ । निःशूल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्था समेत गरिएको मञ्चले जनाएको छ । मेलामा विभिन्न कलाकारले आफ्नो प्रस्तुति समेत दिने छन् ।
नेपाली युवा उद्यमी मञ्च देशभरिका ४० वर्ष मुनिका युवा उद्यमीहरुको साझा मञ्च हो । मञ्चका विभिन्न जिल्लामा ७ वटा शाखा रहेको छ ।