काठमाडौं । ललितपुरको सानेपास्थित होटल गार्डेनमा आयोजित सातौँ मेडइन नेपाल मेलामा उद्यमी, व्यवसायीसहित आगन्तुक पनि निकै उत्साहित भएका छन् । अघिल्ला वर्षको तुलनामा उद्योगी, आगन्तुक एवं आयोजक नेपाली युवा उद्यमी मञ्च पार्किङको व्यवस्था, होहल्ला रहित वातावरण कारण उत्साहित देखिएका हुन् ।
कोटेश्वरका श्याम श्रेष्ठ यो वर्ष मेलामा आउँदा अघिल्ला वर्षको तुलनामा धेरै सहज भएको बताउँछन् । श्रेष्ठ भन्छन् , ‘म अघिल्ला वर्षमा पनि यस्ता मेलामा गएको थिए, त्यो समयमा पार्किङको असहज थियो, होहल्ला पनि निकै थियो ।’ अहिले शान्त वाताबरण, प्रयाप्त पार्किङ भएको ठाँउमा मेला गरिएको रहेछ, आगामी वर्षमा पनि यस्तै ठाँउमा होस भन्ने अपेक्षा छ ।’
यस्ता मेलाले स्वदेशी वस्तुको प्रयोग गराउन पनि मद्दत गर्ने सहभागीले बताए । मेलामा अवलोकन मात्रै भन्दा पनि उपभोक्ताले आफ्नै देशमा भएको उत्पादनको खरिद गरेरै प्रोत्साहन गर्नुपर्ने श्रेष्ठको भनाई छ । उनले भने ‘मेलामा स्वदेशी के–के उत्पादन रहेका छन् भनेर हेरौ र उपभोग पनि गरौ भनेर कोटेश्वरबाट आएको हुँ, निकै राम्रो लाग्यो, हाम्रो देशमा उत्पादन भएका सामानको प्रबद्र्धन गर्दै जानुपर्छ ।’
यस्तै मेला नेपाली उत्पादनको अवलोकनका लागि भन्दै लगनखेलबाट आएका विनोद शाक्य पनि यो वर्षको एक्सपोमा युवा उद्यमीले तयार पारेको उत्पादन देखेर जति खुसी थिए, होहल्ला कम भएको र प्रयाप्त पार्किङ भएको ठाँउमा मेला भएको कारण निकै उत्साहित पनि भए । उनले भने, ‘विभिन्न समस्याका बाबजुद नेपालमा युवा उद्यमीहरुले गरेको काम निकै सराहनीय छ, ।’ चाडपर्वको समयमा भएको मेलामा अलि धेरै दिन हुनुपर्ने उनको भनाइ छ ।
अवलोकनकर्ताले भने जस्तै देशमा नै उद्योग व्यवसाय गर्न निकै गाह्रो रहेको मेलामा सहभागी एक व्यवसायीले बताए । व्यवसायी उषा महर्जन देशमै बसेर केही गरौ भन्ने उद्देश्यले रिठ्ठा र बोधिचित्तको माला बनाउन थालेको तर विभिन्न खाले समस्याले काम गर्न समस्या भएको दुखेसो गर्छिन । टौदहमा रहेर माला बनाउँदै आएकी महर्जन भन्छिन्, ‘हामीले माला बनाउनेको लागि सल्यानबाट गिठ्ठा ल्याउने गरेका छौं । बाँकी रहेको कच्चापर्दाको अभावका कारण काम गर्न समस्या छ ।’
८ जना महिलाले अहिले गिठ्ठा र बोधिचित्तको माला बनाइरहेका छौं । उनी भन्छिन्, ‘विदेशमा मार्केटिङ गर्न समस्या छ, नेपाली उपभोक्ताले खासै चिन्नुहुन्न, विदेशीले मात्रै हो यो सहजै चिन्ने ।’ नेपालीले नेपालमा उत्पादित भन्दा बढी हककङबाट आयात गरिने मालाको प्रयोग गर्ने गरेको उनको तर्क छ ।
माला बनाउन पोते, चुनढुङ्गा, चाँदी आवश्यक पर्ने भएकोले नेपालमा यी वस्तु सहजै नपाउने भएकोले झनै समस्या भएको उनले बताइन् । नेपालमा गिठ्ठाको माला दुर्लभ भएकाले यसको प्रचारप्रसारमा सरकारले प्रोत्साहन गर्नुपर्नेछ । ‘हामीले हङकङबाट आयातित मालासँग प्रतिस्पर्धा गर्नु परेको छ, सरकारले हाम्रो उत्पादनलाई प्रोत्साहन गरेको खण्डमा रोजगारी बढ्ने थियो, व्यापार घाटा घट्ने थियो’ उनले भनिन् । बजारीकरणको समस्या हुँदा समेत ८ जनाको रोजीरोटी थेगेको यो व्यवसाय बजारीकरण हुने भए धेरैलाई रोजगारी दिन सक्ने महर्जन बताउँछिन् ।
मेलामा सहभागी अर्का युवा व्यवसायी पुजन बर्जाचार्य नेपाली उत्पादन गर्ने भने पनि कच्चा पदार्थको अभावमा काम गर्न समस्या भएको बताउँछिन् । ‘न सरकारले करमा छुट दिन्छ न सहज कच्चा पदार्थ पाउन सकिन्छ, उनले भनिन्, ‘यो अवस्थामा कसरी उद्योग चलाउने ।’
उद्योगी व्यवसायीलाई राज्यले सहजै ऋण दिने व्यवस्था गर्न मात्र सकेमा काम गर्न केहि हदसम्म सजिलो हुने पश्मिना व्यवसायी सुनि श्रेष्ठको भनाई छ । अहिले त निर्यात पनि सहजै नहुने र ऋण लिन बैंकबाट हुने विभिन्न समस्याले पनि युवा उद्यमीलाई काम गर्ने जाँगर कम हुँदै गएको श्रेष्ठ बताउँछन् । ‘सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने हो भने नेपाली उत्पादनले विदेशी बजारमा राम्रो प्रदर्शन गर्ने छ, उनले भने, ‘त्यसले निर्यात बढाउन सहयोग पुग्छ ।’ दुई सम्म चलेको मेला शनिबार सकिएको छ । मेलामा १० हजार भन्दा बढीले अवलोकन समेत गरेका थिए ।