काठमाडौं। मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुंगिएजस्तो लाग्छ। सपना अधुरै रोकिन्छन्। भविष्य अँध्यारो लाग्ला। तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो।
सिन्धुलीमा जन्मिएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्नो जीवनका सपनालाई पछ्याइरहेका छन्। २५ वर्षको उमेरमै उनले जीवनका उकाली–ओराली नजिकबाट भोगिसके। २०७८ शिशिरका लागि जीवनको एउटा कठोर मोड बन्यो। उनी दुर्घटनामा परे।
मेरुदण्डमा चोट लागेपछि शारीरिक रूपमा अपाङ्गता बने। अहिले शिशिर ह्वीलचियरको सहाराले बाँचिरहेका छन्। शरीरले साथ दिन छोडेपछि मन पनि कहिलेकाहीँ थाक्थ्यो।
‘अब के गर्ने?’
‘कसरी बाँच्ने?’
यी प्रश्नहरू उनको मनभित्र उभिरहन्थे घरिघरि। वरपरका मानिसका शब्दहरू पनि कम पीडादायी थिएनन्। कसैले सहानुभूति देखाउँथे, कसैले निराशा। ‘अब त जीवन जिउन गाह्रो हुन्छ’, भन्ने आवाज बारम्बार कानमा पर्थे शिशिरका। ती शब्द कहिलेकाहीँ घाउभन्दा पनि गहिरो लाग्थे शिशिरलाई।
दुर्घटनाले शरीर कमजोर बनायो शिशिरको तर सपनालाई भने बलियो बनायो। आज शिशिर दाहाल आफ्नै मेहनतले उभिएका छन्, अरूका लागि प्रेरणा बनेर। ‘के म यही अवस्थालाई नियति मानेर बस्ने कि फेरि केही गरेर उठ्ने?’ भन्ने लाग्यो शिशिरलाई । त्यही प्रश्नले उहाँको जीवनको दिशा बदल्यो। अनि बने, नर्सरी व्यवसायी। परिवारकै पहिलो नर्सरी व्यवसायी बन्ने उहाँको सपना सामान्य थिएन। तर, त्यो सपना पछाडि उनको आत्मनिर्भर बन्ने चाहना थियो।
कृषि विषय अध्ययन गरेका उनले दुई वर्षसम्म किसानलाई तालिम दिए। अरूलाई उत्पादन सिकाउने, आत्मनिर्भर बन्न प्रेरित गर्ने उनको कामले उनलाई सन्तुष्टि दिन्थ्यो।
दुर्घटनापछि अरूकोमा गएर काम गर्न गाह्रो थियो । ‘आफ्नै केही गरौँ’ भन्ने सोच उनको मनमा आयो। आफू आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने अठोटले विसं २०७९ देखि शिशिरले नर्सरी व्यवसाय सुरु गरे। सुरुआत सजिलो थिएन। शरीरले सधैँ साथ दिँदैनथ्यो । स्रोतसाधन सीमित थिए, र नीतिगत झन्झट आफ्नै ठाउँमा थिए। तर, उनले हार मानेनन्। माटोसँग खेल्दै, हरियाली बिरुवासँग रमाउँदै शिरिरले आफैंलाई पुनः उभ्याए।
उनको नर्सरीमा फुल्ने हरेक बिरुवाले व्यवसाय मात्रै नभएर शिरिरको संघर्षको कथा बोकेको छ। अहिले उनले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन्। शिशिर भन्छन्, ‘मेहेनत गरे विदेश जानैपर्दैन। नेपालमै भविष्य छ। गाह्रो त छ, तर गर्न सकिन्छ। नीतिगत रूपमा केही चुनौती छन्, तर यदि दृढ भएर लागियो भने भोलिको दिन पक्कै राम्रो हुनेछ।’
भृकुटीमण्डपमा चलिरहेको तेस्रो हर्टिकल्चर मेलामा भेटिएका शिशिरको आवाजमा आत्मविश्वास झल्किन्छ। विश्वास, धैर्य र मानिसको साहसले मान्छे पनि कठिनाइ चिरेर अघि बढ्न सक्छ भन्ने उदाहरण दिएको शिशिरले।
कीर्तिपुरको शान्त वातावरणमा फैलिएको हरियालीबीच, बुढाथोकी नर्सरीमा बोटबिरुवाका दिनहुँ नयाँ जीवन अंकुराइरहेको छ। यही हरियालीसँगै आफ्नै पहिचान बनाउँदै छन्, सुरसा ओझाले पनि। उनका लागि यो व्यवसाय रोजगारीको माध्यम मात्रै नभएर पुस्तान्तरण हुँदै आएको एउटा सपनासमेत हो।
फूल र बिरुवाप्रतिको मोहले उनका हजुरबाले सुरु गरेको नर्सरी व्यवसाय अहिले परिवारको पहिचान बनेको छ। ‘सुरुमा त हजुरबाले गर्नुभएको हो, म त पछिल्ला चार वर्षदेखि यसमा लागेको हुँ,’ उनी भन्छन्। सुरसाका लागि यो यात्रा त्यति सहज भने भएन । नेपाली समाजमा अझै पनि हर्टिकल्चर (उद्यान) व्यवसायलाई सम्मानित पेशाका रूपमा हेर्ने चलन बलियो नहुँदा पढेलेखेर अन्य जाागिर पो खानुपर्छ, यस्तो कृषिजन्य पेसामा लाग्ने हो र भन्ने समाजको प्रश्नलाई बेवास्ता गर्दै अगाडि बढिरहेका छन्, उनी।
‘यो क्षेत्रमा इज्जत कम हुन्छ, कहिलेकाहीँ हेपिएकोजस्तो पनि महसुस हुन्छ’, सुरसा खुलेर सुनाउँछन्। यद्यपि, उनको दृष्टिकोण फरक । चुनौतीलाई कमजोरी होइन, अवसरका रूपमा हेर्ने सुरसाको सोचले नै उनलाई अगाडि बढाएको छ । ‘मलाई लाग्छ, हामीले नै यस्तो सोच परिवर्तन गर्नुपर्छ’, उनी दृढताका साथ भन्छन्।
नर्सरीमा फूलका बिरुवा, फलफूलका स्याउला, सजावटी बोटबिरुवादेखि लिएर दुर्लभ प्रजातिसम्म पाइन्छन्। उनका अनुसार, अहिले विस्तारै युवाहरू पनि यस क्षेत्रमा आकर्षित हुन थालेका छन्। सहरको बढ्दो हरियालीप्रतिको चासो, घरमै बगैँचा बनाउने चलन र वातावरणीय सचेतनाले हर्टिकल्चर व्यवसायको सम्भावना बढाएको छ। सुरसाले नर्सरीलाई व्यापारका रूपमा मात्र लिएकी छैनन्। वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा पनि लिएकी छन्। ‘एउटा बिरुवा रोप्नु भनेको स्वच्छ वातावरणको भविष्य रोप्नुजस्तै हो’, सुरसाको विश्वास छ।
सामाजिक दृष्टिकोण बदल्नुपर्ने चुनौती अझै बाँकी भए पनि सुरसाजस्ता युवाको पहलले विस्तारै परिवर्तनको सङ्केत देखिँदै छ। हजुरबाबाट सुरु भएको हरियालीको यात्रा अहिले नयाँ पुस्ताको आत्मविश्वाससँग जोडिएको छः जहाँ मेहनत छ, सपना छ र सोच बदल्ने दृढ अठोट पनि।
ललितपुरका दीपेन्द्र तुलाधार स्वदेशमै सम्भावना खोज्ने अर्का उदाहरणीय उद्यमी हुन्। पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीसँगै प्रभावित भयो । लकडाउनले बजार ठप्प बनेपछि विज्ञापन क्षेत्र मात्र होइन, धेरै उद्योगहरू धराशयी बने, जसको प्रत्यक्ष असर उनको व्यवसायमा पनि पर्यो।
परिस्थिति बिग्रँदै जाँदा परिवार र आफन्तले विदेश जाने सुझाव दिन थाले। भाइहरू विदेशमै रहे पनि उहाँलाई भने विदेशिनु मात्र विकल्प जस्तो लागेन। विदेशमा पनि सजिलो कहाँ छ र भन्ने सोचले तुलाधारलाई स्वदेशमै केही नयाँ गर्ने दिशातर्फ डोर्यायो।
त्यही क्रममा उनले नर्सरी व्यवसाय रोजे। आज उनी यही क्षेत्रमा स्थापित हुनुभएको छ। ‘अहिले माकिस ४५ लाखसम्म कमाइ भएको छ’, उनी भन्छन्, ‘मेहेनत गरेमा हर्टिकल्चर व्यवसाय राम्रो छ।” भृकुटीमण्डपमा जारी पुष्प प्रदर्शनीमा भेटिएका तुलाधार ग्राहकलाई फूल तथा नर्सरीका बिरुवा बिक्रीमै व्यस्त भेटिन्छन्। व्यापारसँगै उनले ग्राहकलाई बिरुवाको स्याहार–सम्भारसम्बन्धी सीप पनि सिकाइरहेको थियो–कुन बिरुवालाई कति पानी चाहिन्छ, कुन भित्र वा बाहिर राख्नुपर्छ भन्ने जानकारी दिन उनी विशेष ध्यान दिन्छन्।
‘हामीले बिक्री त गर्छौं, तर किनेको बिरुवा राम्रोसँग नहुर्किएर मर्छ कि भन्ने चिन्ता पनि हुन्छ”, उनी भन्छन्, “त्यसैले ग्राहकलाई नै राम्रोसँग हेरचाह गर्न सिकाउँछौँ।” ग्राहकलाई सहज बनाउन उनले नर्सरीसँग सम्बन्धित सबै सामग्री एकै ठाउँमा उपलब्ध गराउने अभ्यास पनि सुरु गर्नुभएको छ। पहिले बिरुवा, गमला र अन्य सामग्रीका लागि फरक–फरक ठाउँ धाउनुपर्ने बाध्यता थियो, तर अहिले एकै छानामुनि सबै पाइने व्यवस्था उनले मिलाएका छन्।
तुलाधारले होटल, रेष्टुराँ, अफिस, अपार्टमेन्टदेखि घरसम्म गमला र सजावटी बिरुवाको प्रयोग अनिवार्यजस्तै बनेको छ । मानिसको जीवनशैली बदलिँदै जाँदा हरियाली र सौन्दर्यप्रतिको आकर्षण पनि बढ्दो छ।
“पहिले बुकी दिने चलन थियो, अहिले गमलामा बिरुवा दिने प्रचलन बढेको छ”, उनी भन्छन्। लामो समय टिक्ने भएकाले पनि मानिसहरू अब फूलको बुकीभन्दा हरियो बिरुवातर्फ आकर्षित हुँदै गएको तुलाधारको अनुभव छ ।
बिहानको पूजा, घर सजावटदेखि विवाह र व्रतबन्धसम्म फूल र बिरुवाको प्रयोग बढ्दै जाँदा नर्सरी व्यवसायको भविष्य अझ उज्यालो देखिएको उनको विश्वास छ। दीपेन्द्र तुलाधारको यो यात्रा सङ्कटबाट सुरु भएर सम्भावनासम्म पुगेको स्वदेशमै सफलताको प्रेरक कथा बनेको छ।
काठमाडौँको साँखुमा उत्पादन केन्द्र रहेको दिवा नर्सरीले पनि अहिले स्थानीय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ। त्यही व्यवसायलाई अगाडि बढाइरहेका छन् आकाश सापकोटाले। बौद्ध र गोठाटार क्षेत्रलाई बिक्री केन्द्र बनाएर उहाँले नर्सरीका बिरुवा बजारसम्म पुर्याउँदै आएका छन्।
दाइको व्यवसाय हेर्दै हुर्किएका आकाशले सुरुमा यही क्षेत्रलाई अवलोकन र सिकाइको रूपमा लिए। विस्तारै अनुभव बढ्दै जाँदा उहाँ आफैँ सक्रिय रूपमा यसै व्यवसायमा जोडिए। ‘दाइको व्यवसाय हेर्दै सिक्दै लागेँ’, उनी भन्छन्। सापकोटाका अनुसार दिवा नर्सरीबाट मासिक करिब रु पाँच लाखसम्म आम्दानी हुने गरेको छ, जसले यो व्यवसायलाई अझ आकर्षक बनाएको छ। सहरको विस्तार, घर–अपार्टमेन्टको बढ्दो सङ्ख्या र हरियालीप्रतिको रुचिले नर्सरी व्यवसायलाई राम्रो बजार दिएको उहाँको अनुभव छ।
मोरङका अरुण विष्ट उमेरले २२ वर्ष पुगे। उनको सोच अरुहरू धेरै युवाको भन्दा फरक छ। उमेरसँगै विदेश जाने सपना बोकेर हिँड्ने धेरै युवाबीच अरुण भने स्वदेशमै पुष्प व्यवसायमा भविष्य खोजिरहेका छन्। दाइले सञ्चालन गर्दै आएका नर्सरी व्यवसाय, विशेषगरी आएको काम, उनका लागि प्रेरणा र अवसर दुवै बनेको छ।
सानैदेखि बोटबिरुवा, फूल र हरियालीसँग नजिक रहेका अरुण अहिले पुष्पखेतीतर्फ गहिरो रुचि राख्छन्। ‘विदेश जाने सोच छैन, यही व्यवसायमा लाग्छु”, अरुण भन्छन्। नर्सरीको वातावरणमै हुर्किएको अनुभवले अरुणलाई यो क्षेत्र सम्भावनाको संसारजस्तो लाग्छ । बजारको माग, फूलको व्यापार र सजावटी बोटबिरुवाको बढ्दो आकर्षणले नेपालमै राम्रो भविष्य देखिने उनको बुझाइ छ।
‘गरे नेपालमै केही हुँदैन भन्ने होइन, यहाँ पनि धेरै सम्भावना छ”, अरुणको विश्वास छ। उनी अहिले क्रमशः पुष्पखेतीतर्फ आफूलाई तयार गर्दै छन्। विदेशिने लहरबीच अरुणजस्ता युवाको सोचले हर्टिकल्चर क्षेत्रमा नयाँ आशा जगाइरहेको छ। आफ्नो माटोमै केही गर्न सकिन्छ भन्ने विश्वासले नै अरुणजस्ता युवाहरूलाई अगाडि बढ्ने हिम्मत जुटाएको छ।
उनीहरू त केही उदाहरणका पात्र मात्रै हुन्। नर्सरी व्यवसायमा लाग्ने अन्य थुप्रै व्यक्ति छन्, जसले यही व्यवसायमा भविष्य देखेका छन्। सुनौलो भविष्य देखेरै होला केहीले अन्य पेसा छोडेर पनि यही पेसामा आबद्ध भएका छन्। नर्सरीमा फूल तथा अन्य बिरुवाको मोह बढेसँगै यस व्यवसायमा लाग्नेहरू उत्साहित देखिन्छन्।
कृषि क्षेत्रबाट मुलुकको आर्थिक अवस्था सुदृढ गर्न नर्सरी तथा पुष्पखेतीको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाले बताए। उनका अनुसार नेपालमा वार्षिक रूपमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको पुष्प तथा आलङ्कारिक वस्तु आयात हुने गरेको छ, जसलाई घटाउँदै स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्न सकिने सम्भावना प्रशस्त रहेको छ।
‘हामी वार्षिक रूपमा करिब साढे तीन अर्बको पुष्प र आलंकारिक वस्तु आयात गरिरहेका छौँ। त्यसलाई प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउने गरी हामी लागिरहेका छौँ’, उनले भने। थापाका अनुसार पुष्प क्षेत्र केवल सौन्दर्यसँग मात्र सीमित छैन, यसले रोजगारी, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सक्छ। नर्सरी र फूल उत्पादन विस्तार भएमा युवाका लागि स्वदेशमै राम्रो आयआर्जनको अवसर सिर्जना हुने उहाँको विश्वास छ।
नर्सरी क्षेत्रमा ११ अर्बभन्दा बढीको लगानी
नर्सरी व्यवसायी संघ नेपालका अनुसारका अनुसार नर्सरी क्षेत्रमा ११ दशमलव ८३ अर्बको लगानी रहेको छ। तीन हजार ९०० भन्दा बढी नर्सरी व्यवसायी रहेको संघको तथ्याङ्कमा उल्लेख छ। पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी गरी विभिन्न उपक्षेत्रमा फैलिएको नर्सरी व्यवसायले वार्षिक करिब ६.४३ अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
विवरणअनुसार पुष्प नर्सरीतर्फ ७५१ वटा व्यवसायी रहेका छन् । करिब ११.२७ करोड उत्पादन हुने गरेको छ । वार्षिक २.३० अर्ब रूपैयाँ पुष्प व्यवसायबाट उत्पादन हुने गरेको छ। करिब ५५० फलफूलको व्यवसायबाट वार्षिक एक दशमलव ६५ अर्ब आम्दानी हुने गरेको छ।
त्यस्तै कृषि वन नर्सरीतर्फ सबैभन्दा धेरै दुई हजार २०० व्यवसायी सक्रिय रहेका छन्। यस क्षेत्रबाट शून्य दशमलव ८८ अर्बको कारोबार हुँदै आएको छ। जडीबुटी नर्सरीतर्फ ४०० व्यवसायी संलग्न रहेको र वार्षिक एक दशमलव ६० अर्ब आम्दानी हुने गरेको छ।
नर्सरी व्यवसायमार्फत एक लाख २० हजार नागरिकले रोजगारी तथा आयआर्जनको अवसर पाइरहेका छन्। संघका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
सरकारी नीति, प्रविधि हस्तान्तरण, गुणस्तरीय बिउबिजनको उपलब्धता र बजार विस्तारलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकास रणनीति आवश्यक रहेकामा उनको जोड रहेको छ। नर्सरी व्यवसायको प्रवद्र्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनालाई लक्षित गर्दै भृकुटीमण्डपमा बिहीबारदेखि सञ्चालन भइरहेको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो सोमबारसम्म चल्नेछ।