काठमाडौं । सरकारले मोटरको बिमाङ्क रकम बढाएर दोब्बर बनाएपछि नियामक बिमा समिति बिमा शुल्क (प्रिमियम) निर्धारणमा जुटेको छ । सरकारले गत पुसमा मोटरकाे बिमाङ्क रकम ५ लाखबाट बढनएर १० लाख रुपैयाँ पुर्याएपछि समितिले अहिले भइरहेको शुल्क समायाेजन गर्ने प्रक्रिया सुरु गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
‘सरकारले पुसमै मोटरको बिमाङ्क निर्धारण गरिसकेको छ । बिमाङ्क १० लाख रुपैयाँ पुगेको छ । तर, त्यसको प्रिमियम अहिलेसम्म तोकिएको छैन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘अहिले प्रिमियम निर्धारण गर्नका लागि तथ्याङ्क सङ्कलन भइसकेको छ, एक हप्ताभित्र नयाँ शुल्क निर्धारण भइसक्छ ।’
अहिलको भन्दा कति शुल्क बढाउने भन्ने बारेमा टुङ्गो नलागेको उनको भनाइ छ । ‘बिमाङ्क रकम बढेपछि प्रिमियम पनि बढ्छ,’ उनले भने, ‘तर, कति निर्धारण गर्ने भन्ने कुरा सल्लाहकार समितिले निर्णय गर्छ ।’ सल्लाहकार समितिका अध्यक्ष पनि बिमा समितिकै अध्यक्ष रहने व्यवस्था छ । समिति अध्यक्ष चिरन्जीवी चापागाईं छन् ।
कार्यकारी निर्देशक पाैडेलका अनुसार हाल (५ लाख रुपैयाँ बिमाङ्क हुँदा) गाडीको प्रतिसिट ७ सय रुपैयाँ र मोटरसाइकलका लागि ५ सय रुपैयाँ बिमा शुल्क छ । यसमा मूल्य अभिवृद्धि कर (भ्याट) जोडिएको छैन । बिमा शुल्क समायाेजनले अहिलेकाे शुल्कलाई बढाउने छ । गत पुसमा साढे चार गुणासम्म बिमाङ्क रकम बढाइएको थियाे । यसअघि मोटर दुर्घटना हुँदा यात्रुको मृत्यु भए ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ दिने व्यवस्था थियो ।
नयाँ व्यवस्थाअनुसार सरकारले यात्रुको मृत्यु भएमा १० लाख रुपैयाँ, मेडिकलबापत ३ लाख र टाउको तथा मेरुदण्डमा चोटपटक लागेमा १५ लाख रुपैयाँ तोकिएको पौडेलको भनाइ छ । यसले सवारी धनी तथा चालकलाई थप जिम्मेवारी बोध गराउने उनको भनाइ छ ।
‘सरकारले गत पुसमा जे निर्णय गर्यो त्यो, एकदमै राम्रो निर्णय हो,’ उनले भने, ‘बिमाङ्क रकम सरकारले तोक्ने र बिमा शुल्क बिमा समितिले तोकेपछि कार्यान्वयनमा आउँछ । अहिले हामी त्यसैको तयारीमा जुटेका छौं ।’