काठमाडाैं। यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा आज यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् ।
नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए।
'न्यून तथा मध्यम वर्गीय व्यवसायीको पुँजीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रमा रोजगारी बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण निर्माणको माग गरेका हौं,' महासचिव गौतमले भने।
यस्तै व्यवसायीले सवारीसाधनका लागि यसअघि लगाउँदै आएको २० वर्षे अवधि हटाएर सवारीको इञ्जिनको क्षमताका आधारमा सञ्चालन गर्न दिनसमेत माग गरेका छन्। हाल देशभर चार लाखभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको र उक्त सवारीसाधनमा प्रत्यक्ष ११ लाख र अप्रत्यक्षरुपमा करिब ४० लाख जनतालाई रोजगारी सिर्जना गरेको महासंघले जनाएको छ।
व्यवसायीले आजै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत उक्त माग राखेर ज्ञापनपत्र बुझाएका छन्।