काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएटतर्फको चुनाव यस पटक झनै प्रतिस्पर्धात्मक र रोचक बन्दै गएको छ। चैत २९ र ३० गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी समीकरणमा नयाँ मोड देखिएको छ।
एसोसिएटतर्फबाट उम्मेदवारी दिएका प्रवलजंग पाण्डेको टिममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालका छोरा सचिन ढकालको इन्ट्री भएपछि चुनावी माहोल थप तातेको हो।
आइतबार पाण्डे नेतृत्वको टिमले उम्मेदवारी दर्ता गरेको हो। उक्त टिममा अभिज्ञा मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, इश्वर जिसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियाराज रेग्मी, राजेशकुमार अग्रवाल, रिसी अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशिल थापा, सुयस प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठसहितका उम्मेदवार चुनावी मैदानमा उत्रिँदै छन्।
विशेषगरी अध्यक्ष ढकाल पक्षबाट सचिनको सहभागिताले एसोसिएट समूहको शक्ति सन्तुलनमा प्रभाव पार्ने आकलन गरिएको छ। चुनाव नजिकिँदै जाँदा आन्तरिक गठबन्धन, प्यानल प्रतिस्पर्धा र प्रभावशाली व्यक्तिहरूको संलग्नताले यसपटकको महासंघ चुनाव थप चासोको केन्द्र बन्ने देखिएको छ।