काठमाडौँ । सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कुल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता सेयर ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ भने आठ उपसमूहको सेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०.०२ बान्दुले बढेको छ । यस्तै बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बिमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बिमा ११.१८ अङ्कले घटेको छ ।
स्टकका अनुसार कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्याे । सो कम्पनीको १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड चार करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक दुई करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक सेयर दुई करोड ४१ लाख पाँच हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको एक करोड ४४ लाख ४९ हजार ७२४ रूपैयाँबराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९५, आइएमइ जनरल इन्स्योरेन्स ६.९५, पाँचथर पावर कम्पनी ६.४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४.७५ र अरुण काबेली पावर कम्पनीका सेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.३६, आशा लघुवित्त वित्तीय संस्था ४.१७, सिद्धार्थ इन्स्योरेन्स ३.१३ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले २.६६ प्रतिशतले गुमाए ।