नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ उजैनी गाँउ नजिकै माटोको एक ठूलो ढिस्को छ, यसलाई रामग्रामस्तुप भनिन्छ। करिब २ हजार ५ सय वर्ष पुरानो तथा ईसापूर्व ५ सय पुरानो स्तुप कोलिया गणराज्यका तत्कालीन राजाद्वारा निर्माण गरिएको विद्धान डा. कौशलेन्द्र श्रीवास्तव बताउँछन्।
बुद्धको जन्मस्थल लुम्बिनी जस्तै महत्व बोकेको रामग्रामस्तुप विकासको प्रर्खाइमा छ। स्तुपमा कुनै प्रकारको भौतिक पूर्वाधार निर्माण भएको पाइँदैन। यो स्तुप संरक्षण र विकासको अभावमा ओझेल परेको र अहिलेसम्म कुनै प्रकारको प्रचारप्रसार पनि हुन सकेको छैन। अन्तर्राष्ट्रियस्तरमा चिनिएको रामग्रामस्तुप ओझेलमा परेपछि यहाँ सर्वत्र चिन्ताको विषय बन्न थालेको छ।
डा. श्रीवास्तवका अनुसार अन्य पुरातात्विक महत्वको स्थान भए पनि रामग्राम स्तुपको महत्व भने विशेष छ। बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले स्थापना गरेका आठ स्तुपमध्ये सिंगाे अस्तु भाग रहेको स्तुप रामग्रामस्तुप नै हो।
बाँकी सात वटा स्तुप उत्खनन गराएर तत्कालीन मगध सम्राट अशोक मौर्यले त्यहाँको अस्तुलाई धेरै धन्दा धेरै मानिसले पूजा गर्न पाउन् भन्दै ८४ हजार टुक्रा गरी विभिन्न राज्यमा बाँडेर स्तुप बनाउन लगाएका थिए तर रामग्राम स्तुपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराउँदा सिंगाे भाग सुरक्षित रहेको छ। यस स्तुपको महत्व थाह पाएका बुद्धमार्गी यहाँ एकपटक नपुगी नहुने बताउँछन्।
रामग्राम स्तुपको थोरै माटो भए पनि माटो ढिस्कोमै रहेकाले यहाँको रुखको पात भने टिपेर लैजाने गरिएको छ। स्तुपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख गरिएको उनी बताउँछन्।
अतिनै महत्वको रामग्राम स्तुपको पूजा तथा अवलोकनका लागि विभिन्न देशका पर्यटक र आन्तारिक पर्यटक आउने गर्छन्। स्तुप क्षेत्रभित्र कुनै पनि किसिमको भौतिक संरचना वा कला रमूर्तिको राम्रो सजावट नगरिएकाले यहाँ आउने पर्यटक स्तुप भनेर चिनिएको ढिस्कोको मात्र फोटो खिचेर जाने गरेका छन्।
अन्तराष्ट्रियस्तरमा पनि चिनिएको यो स्तुपमा बाह्य पर्यटक आउँदा उनीहरुको बसाइँ केही घण्टाको लागि मात्र हुने गर्छ। उनीहरू आएपछि पूजा र प्रार्थना सकिएलगत्तै भैरहवा लुम्बिनी वा अन्य ठाउँमा रात्रि बसाइँ गर्ने गरेका छन्। यहाँ लज होटेल, खानेपानी, शौचालय, पार्क र प्रार्थना गर्नेलगायत विभिन्न भौतिक संरचनाको अभावले पर्यटक उत्तिखेरै फर्किने गरेको देखिन्छ।
यस स्तुपको विकासका लागि गुरूयोजना निर्माण, त्यसको संरक्षण र प्रवर्द्धनमा कसैको पनि चासो हुनसकेको छ्रैन। अझै विदेशी पर्यटकलाई घुमाउन वा गाईड गर्न भारतीय मात्र आउने गरेकाले पनि यस्को महत्वबारे खासै प्रचार हुनसकेको छैन्।
चीन, थाइल्याण्ड, भेतनाम, जापान, श्रीलंका, कोरियालगायत ठाउँबाट पर्यटक आउने गरेका छन्। रामग्रामस्तुपको विकासका लागि स्तुप वरिपरी भएको करिब १८ बिघा जग्गामा लुम्बिनी विकास कोषबाहेक अरू कसैले पनि केही गर्न नपाउने व्यवस्था छ। हाल यो जग्गा पशु चौपायाका लागि चरन क्षेत्रमा मात्र सीमित छ।
ती खाली जग्गामा कुनै पनि प्रकारको भौतिक संरचना छैन। कोषले आफ्नो खर्चमा दुई सुरक्षा गार्ड राखेको छ तर अन्य लगानी नदेखिएको रामग्रामस्तुप संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्षका शम्भु उपाध्याय बताउँछन्।
उक्त कोषसँग लगानी हुँदाहुँदै पनि रामग्रामस्तपुलाई विकासमा पछि पारिएकाले लुम्बिनी विकास कोष जस्तै रामग्रामस्तपु विकास कोष गठन गर्न स्थानीय सरकार रामग्राम नगरपालिकासँग माग गरिएको उनको भनाइ छ। लुम्बिनीमा नेपाल सरकारद्वारा करोडौँको बजेट आउछ तर रामग्राम स्तुपमा बजेट विनियोजन नगर्दा यो स्थल ओझेलमा परेको हो।
जिल्ला समन्य समितिका प्रमुख भगवती (रुदल) यादव रामग्रामलाई लुम्बिनी विकाषले ओझेलमा पारेको बताउँछन्। कोषले जहिले पनि लुम्बिनिमा सीमित भई विकास गरेको देखिन्छ। जहिलेसम्म यहाँको स्थानीय तह आफैं अगाडि बढ्दैन् तबसम्म विकास हुन्न उनी भन्छन्।
केही दिन अगाडि मात्र आफूलाई संयुक्तराष्ट्रसंघीय विकास कोषले फोन गरेर रामग्राम स्तुपमा लगानी गर्न तयार रहेको जानकारी दिएको प्रमुख यादव बताउँछन्। त्यस्तै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नवनिर्वाचित रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव स्तुपको व्यवस्थाका लागि नगरपालिकाको तर्फबाट विशेष पहल गर्ने बताउँछन्।
ओझेलमा परेको स्तुप यस नगरपालिकाको एक गहना भएकोले यसलाई विकास गर्नका लागि रामग्राम कोष स्थापना गर्न लागेको नगरप्रमुख यादवको भनाइ छ।