काठमाडाैं। निर्वाचनको समय नजिकिँदै जाँदा एउटै सञ्चारमाध्यमबाट एउटै दल तथा उम्मेदवारका विषयमा एकपक्षीयरूपमा समाचार सामग्री सम्प्रेषण भएको पाइएको छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारमाध्यममा आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन विशेष अनुगनका क्रममा केही सञ्चारमाध्यममा अन्य कुनै दलका समाचारले स्थान नै नपाएको पाइएको हो।
काउन्सिलले गत असोज २८ गतेदेखि निर्वाचनका समयमा सञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन सुरू गरेको थियो। विसं २०७९ असोज ११ गतेदेखि मुलुकभर निर्वाचन आचारसंहिता लागू भएको थियो। अनुगमनका क्रममा कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनमा हानी पुर्याउने किसिमले लेखसहितका सामग्री सम्प्रेषण भएको पाइएको थियो।
अनुगमनका क्रममा छनोट गरिएका सञ्चारमाध्यमले सम्बन्धित क्षेत्रमा निश्चित उम्मेदवारले जित्ने सम्भावना प्रवल भएको, कुनै उम्मेदवारसम्बन्धी समाचारलाई सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्ने गरिएको, एउटा दलको उम्मेदवारलाई निरिह र अर्कोलाई अतिप्रशंसा गर्ने प्रवृत्ति देखिएको पाइएको छ।
अनुगमनका क्रममा प्राप्त तथ्यका आधारमा काउन्सिलले २८ वटा सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनका गाम्भीयर्ताका आधारमा कारबाही गरेको छ। काउन्सिलले एक रेडियो, एक टेलिभिजन र एक पत्रपत्रिका तथा सात अनलाइनलाई स्पष्टीकरण सोधेको छ।
पाँच वटा अनलाइनलाई ध्यानाकर्षण, पाँच अनलाइन, एक टेलिभिजन र दुई पत्रपत्रिकालाई सचेत तथा दुई अनलाइनलाई पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिइएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले जानकारी दिए। काउन्सिलले दुई अनलाइनलाई नेपालभित्र प्रकाशन/प्रसारण गर्न नमिल्ने गरी रोक लगाएको छ।
काउन्सिलले विषयगत र वस्तुगत विधिबाट निर्वाचनमा आचारसंहिता परिपालना भएरनभएको अनुगमन गरेको थियो। प्रदेशस्तरमा प्रकाशन र प्रसारणको पहुँचलाई हेरेर काउन्सिलले अनुगमनका लागि सञ्चारमाध्यमको नमूना छनोट गरेको थियो।
यसबीचमा काउन्सिलले ६८ वटा पत्रपत्रिका, ८८ वटा अनलाइन, ३७ वटा रेडियो र १२ वटा टेलिभिजन गरी कूल दुई सय २५ वटा नमूना छनोट गरेको थियो। सञ्चारमाध्यम तथा पत्रकारबाट प्रयोग भएका सञ्चारमाध्यमको प्रवृत्तिगत अनुगमन गरिएको काउन्सिलले जनाएको छ।