गोदावरी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ११ हजार ५ सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर ६ हजार ३ सय सुरक्षाकर्मी परिचालन भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।
निर्वाचनका बेला १ सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन हुने जनाइएको छ ।
मतदानस्थलमा भने निर्वाचनको दुई–तीन अगाडिमात्रै सुरक्षाकर्मी खट्नेछन् । रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन् ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा २ हजार ८ सय १२, कञ्चनपुरमा १ हजार ६ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा ९ सय ३७, अछाममा १ हजार २ सय ६८ म्यादी प्रहरी परिचालन गरिएको छ ।
त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ ।
प्रतिनिधिसभा १६ र प्रदेशसभा ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये ७ सय १० अतिसंवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
१ हजार १ सय ६१ मतदानस्थल रहेको यो प्रदेशमा सामान्यभन्दा संवेदनशील मतदानस्थलको सङ्ख्या बढी छ । अतिसंवेदनशील तीन सय ५२ र संवेदनशील चार सय चार गरी प्रदेशभरि सात सय ५६ मतदानस्थल संवेदनशील रहेका हुन् । ४ सय ५ मतदानस्थल भने सामान्य सूचीमा रहेको सुरक्षा निकायले जनाएको छ ।