काठमाडौं। जिल्ला होटल व्यवसायी संघ काठमाडौँले नयाँ वर्ष २०८३ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघले सोमबार होटल पालज्ञामा एक कार्यक्रमका बिच क्यालेन्डर विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको हो।
संघका अध्यक्ष सुरेश बरालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला रहेका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भविश्वर दुवेले स्वागत मन्तव्य राखेका थिए, भने प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत संघका अध्यक्षले संयुक्त रूपमा नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरेका थिए। बोल्दै
कार्यक्रममा वक्ताहरूले पर्यटन तथा होटल व्यवसायको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबिच प्रभावकारी सहकार्य अपरिहार्य रहेको औँल्याएका थिए। कार्यक्रम बोल्दै प्रमुख अतिथि सचिव निरौलाले होटल तथा पर्यटन क्षेत्रको विकासमा अवरोध बनेका कानुनी व्यवस्थाहरू परिमार्जन गर्न सरकार तयार रहेको बताए। उनले यसका लागि सरोकारवालाको सहभागितामा कार्यदल गठन गरिने जानकारी दिएका थिए।

साथै, होटल तथा पर्यटन क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्ने सरकारको प्रतिबद्धता पनि व्यक्त गरे। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तथा चुनौतीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी चरणबद्ध रूपमा समाधान गरिने पनि बताए।
संघका अध्यक्ष बरालले प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्था, सहयोगी निकाय, विज्ञापनदाता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आगामी चैत २७ र २८ गते पोखरामा आयोजना हुन लागेको नेपाल होटल व्यवसायी महासंघको कार्यक्रममा देशभरका व्यवसायीलाई एकताबद्ध भई सक्षम र इमानदार नेतृत्व चयनतर्फ अग्रसर हुन आग्रह गरे। कार्यक्रम संघका महासचिव शैलेन्द्र विक्रम थापाले सञ्चालन गरेका थिए।