काठमाडाैं। थाइल्यान्डकाे फुकेटमा जारी १३औं विश्व बडी बिल्डिङ एन्ड फिजिक्यु स्पाेर्ट्स च्याम्पेनसिपको शारीरिक सुगठन प्रतियोगिताको महिला मोडल फिजिक्सको विधामा नेपालकी खेलाडी श्वेता कपालीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नै रजत पदक जित्दै देशको झन्डा फहराउन सफल भएकी छिन्।
४४ राष्ट्रले भाग लिएको यस प्रतियोगितामा प्रिजजिंङ राउन्डमा श्वेताको समूहमा १० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। फाइनल राउन्डमा नेपाललगायत हंगेरी, हाका चाइना, थाइल्यान्डमा तथा मंगोलियाका खेलाडीहरूले प्रवेश गरेका थिए। यस समूहमा नेपालले रजत पदक जित्दा हङ्गकङ्ग चाइनाकी तु सुयत यानले स्वर्ण पदक जितेकी छिन।
हंगेरीकी रोक्साना बनंद तृतिय, थाइल्यान्डका सिचिपोर्न सोनंच्य चौथो तथा मंगोलियाकी बहारसैखान खुलान पाँचौ भएका थिए।
प्रतियागिता स्पाेर्ट्स अथ्याेरीटी अफ थाइल्यान्ड एन्ड नेसनल स्पाेर्ट्स डेभलपमेन्ट फन्डको स्विकृतिमा मिनिस्ट्री अफ टुरिजम एन्ड स्पाेर्ट्सकाे पर्यवेक्षणमा नेसनल ओलम्पिक कमिटी अफ थाइल्यान्डबाट मान्यता प्राप्त एवं वर्ल्ड बडी बिल्डङ एन्ड फिजिक्यु स्पाेर्ट्स फिडरेसनको तत्वावधानमा थाइल्यान्ड बडी बिल्डङ एन्ड फिजिक्यु स्पाेर्ट्स एसाेसिएसनको आयोजनामा भएकाे छ।
जारी प्रतियोगिताको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय टोली फुकेट, बैंककमा प्रतियोगितामा भाग लिन गएका थिए।हिजो यसै प्रतियोगिताको पुरुष शारीरिक सुगठन प्रतियोगितामा नेपालका प्रज्ववल मान शाक्यले तृतीय स्थान गर्दै कास्य जित्दै देशको झन्डा फहराउन सफल भएका थिए।
शनिबारकाे महिला विधाको प्रतियोगिता सकिनासाथ एक समारोहकाबीच नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले एक कार्यक्रमकाबीच आफ्नो ब्यक्तिगत तर्फबाट यस प्रतियोगितामा रजत पदक तथा कास्य पदक जित्ने खेलाडीहरुलाई क्रमशः एक लाख पचास हजार र पचहत्तर हजारले पुरस्कृत गरिनेसमेत जानकारी दिए।
संघका अध्यक्ष श्रेष्ठ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेशनका साइन्स एन्ड रिसर्चका अध्यक्ष, एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेशनका उपाध्यक्ष्य एवं दक्षिण एसिया महासंघका अनररी लाइफटाइम अध्यक्षसमेत छन्।
यस प्रतियोगितामा टिम व्यवस्थापकमा संघका उपाध्यक्ष श्री दिनेश राजभण्डारी, अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय, निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ छन् भने प्रसनल काेचको रुपमा विश्व शारीरिक सुगठन प्रतियोगिताका रजत तथा कास्य पदक विजेता खेलाडी रूजेश शाही छन्।
