काठमाडाैं। सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ।
मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको मंसिर १३ गते बसेको ६३औं बैठकले निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो।
'सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि तत् तत् निकायले कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन छ,' समितिको परिपत्रमा भनिएको छ।
त्यस्तै, सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार, सम्भावित शीतलहरबाट हुने असर न्यूनीकरण, संयुक्त बजार अनुगमनलगायत विषयमा पनि केन्द्रीय अनुगमन समितिले निर्देशन दिएको छ।
त्यस्तै राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी कार्यलाई सरलीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। अन्तरनिकाय सूचना आदान–प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न ‘डाटा गभर्नेन्स’लाई प्रभावकारी बनाउन पनि समितिको निर्देशन छ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सामुदायिक विद्यालयमा आवश्यक पर्ने पाठ्यपुस्तकको छपाइ गरी समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिइएको छ। समितिले अर्थ मन्त्रालयलाई राजस्व बढाउनका लागि बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको छ।
'केही मालवस्तुको औपचारिक आयातको विवरण र बजारमा सामानको उपलब्धताबीच तालमेल नभएको हुँदा आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले बजार अनुगमन बढाउन र चोरी–पैठारी नियन्त्रणमा खटिएका भन्सार सुरक्षा गस्तीहरुले समेत निगरानी बढाउन निर्देशन छ,' परिपत्रमा भनिएको छ।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सरकारी अस्पतालको सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यको गुणस्तर सुधार गर्न र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्गम क्षेत्रमा हुने हवाई उडानलाई सहज बनाउन आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको छ।
केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिबाट भएका निर्णयहरु कार्यान्वयन भएरनभएको बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी दिन भनिएको छ। त्यस्तै निर्णय कार्यान्वयनका लागि समन्वय गर्न हरेक मन्त्रालय र निकायले सम्पर्क व्यक्ति तोक्नसमेत निर्देशन दिइएको छ।