काठमाडौं। नेपाली किसानका थुप्रै समस्यामध्ये मलको समस्या निकै जटिल छ। विभिन्न समयमा मल अभावले नेपाली किसान आक्रान्त हुने गरेका छन्। तर, विभिन्न देशबाट आयात गरिएका मल प्रयोगले नेपाली माटो बिगारेको, उत्पादन शक्तिमा ह्रास आएको, अम्लियपन बढेको लगायत समस्याको पनि चर्चा हुँदै आएको छ।
यस्तै समस्या समाधान गर्न ‘उचित जैविक उद्योग’ ले नेपालमै जैविक मल उत्पादन गरिरहेको छ। ललितपुरकी उचिता महर्जनले सञ्चालन गरेको उचित जैविक उद्योगले राइसब्रान्ड, तोरी पिना आदि प्रयोग गरेर उत्पादन नघटाउने किसिमको जैविक मल उत्पादन गर्दै आएको छ।
विभिन्न किसिमका मल प्रयोगले उत्पादन मात्रा घट्दै गएका कारण यसलाई जोगाउनु कर्तव्य ठानेर उचित जैविक उद्योगले अध्ययन गरेर जैविक मल उत्पादन गर्दै आइरहेको छ।
उनको कम्पनीमा जैविक मल, मल्टि-भिटामीन, पशुपालनका लागि जैविक आहार लगायत उत्पादन भइरहेको छ। यी सबै ‘बायो प्रडक्ट’ हुन्।माटो बचाउन र थप उर्वर बनाउन विषादी मल विस्थापन गर्ने महर्जनको सोच छ। यसो त नेपालमा बर्सेनि देखिने मल अभावलाई कम गर्ने पनि उनीहरूको लक्ष्य छ। ललितपुर र माेरङमासमेत उद्योग स्थापना गरेर उत्पादनको काम गरिरहेको उद्योगले चाँडै प्रत्यक प्रदेशमा एक–एक शाखा राख्ने योजना बनाएको छ।
सबै प्रदेशमा शाखा राखेर देशभरिका किसानलाई जैविक मल पुर्याउने योजना उद्योगको छ। यसै अभियानअन्तर्गत उनीहरूले हालै जनकपुरबाट शुद्धीकरणको मान्यता पाएका छन्। यस उद्योगमा हाल प्रतिघन्टा एक टन मल उत्पादन गर्ने मेसिन छ। हाल यो क्षमता बढाउने योजनामा उनीहरूले काम गरिरहेका छन्।
ललितपुर गोदावरीस्थित थेचोमा उद्योग छ। यसबाट बनाइने मलमा तोरी र चिउरीको पिना, कृषि चुन, हड्डीको धुलो ब्रान्ड (ढुटो) र जीवाणु गरी नौ तत्व मिसाइएको हुन्छ। साथै, प्रेस मड पनि प्रयोग हुन्छ। प्रेस मड चिनी मिलबाट ल्याइन्छ। कृषि चुन धादिङ, चिउरीको पिना चितवन र तोरी पिना काठमाडौंबाट ढुवानी गरिन्छ।
विदेशबाट खरिद गरेर ल्याइने युरिया मल रासायनिक मल हुन्। यस्ता मलले माटोको उर्वर शक्तिमा ह्रास ल्याउँछ। यसै करण उनीहरूले यो मल उत्पादन गरेका हुन्। सुक्खा खेतबारीमा गहुँ, तोरी, फापरजस्ता बाली लगाउनुभन्दा तीन देखि चार दिन अगाडि जैविक मल लगाइ खनजोत गरी छाड्नुपर्छ। त्यो समय पूरा भएपछि बीऊ छर्ने वा बाली लगाउने गर्नुपर्छ।
यो जैविक मलमा जीवाणु हुन्छन्। प्याकेटमा सुसुप्त अवस्थामा रहेको जैविक मलको जीवाणु बाहिरी हावाको सम्पर्कमा आएपछि पूर्णरूपमा सक्रिय हुन्छन्। यस अवस्थामा बीउ वा बिरुवासँग प्रत्यक्ष सम्पर्कमा हुँदा त्यसलाई पचाउन सक्दैन। जसले गर्दा बीउ नउम्रिने र बिरुवा मर्ने हुन्छ। यसबाट बच्न जैविक मल पूर्णरूपमा माटो र माटोमा भएको प्राङ्गारिक पदार्थसँग घुलनशील भएपछि मात्र बीउ वा बिरुवाले लिन सक्दछ।
जैविक मलमा विभिन्न किसिमका खाद्य तत्व पाइन्छन्। जसमा ८.७२ प्रतिशत नाइट्रोजन, ३.१४ फस्फोरस, १.५ प्रतिशत र ६.६ प्रतिशत पिएच हुन्छ। जैविक मलमा विभिन्न किसिमका सुक्ष्म जीवाणु हुन्छन्। जसमा प्रकाश संश्लेषण ब्याक्टेरिया, नाइट्रोजन फिक्सिङ ब्याक्टेरिया, इस्टर्न र ल्याक्टिक हुन्छन्।
यसरी माटो सुहाउँदो मलको उत्पादन गरेर माटो बिग्रिने समस्याबाट माटो बचाउने, उत्पादनमा आउने ह्रास कम गर्ने र मल समस्याबाट सधैं हैरानी खेपिरहेका किसानका समस्या समाधान गर्ने उनीहरूको मुख्य लक्ष्य छ।
विदेशबाट भित्रिएका मल प्रयोगले केही वर्षभित्रै माटोमा चिम्टियापन देखापर्ने, उत्पादनमा कमी आउँदै जाने समस्याबाट बचाउन विभिन्न जैविक वस्तु प्रयोग गर्दा यसको मूल्य केही महँगो परे पनि फाइदाका हिसाबले यो मल निकै राम्रो रहेको उनीहरूको दाबी छ। सोहीअनुसार केहीमात्रामा महँगो भए पनि यो फाइदाजनक भएकाले सबैले यसको प्रयोग बढाउँदै जानुपर्ने उनीहरूको भनाइ छ।