काठमाडाैं। राष्ट्रिय खेलकुद परिषदले नेपाल शारीरिक शुगठन तथा फिट्नेस महासंघ तदर्थ समिति गठन गरेकाे छ। परिषदले दुई वटा संघको रुपमा अस्तित्वमा रहेको बडिबिल्डिङमा सहमतिका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेकाे हाे।
परिषदले नयाँ बनेकाे तदर्थ समितिलाई तीन महिनामित्र निर्वाचन गर्न निर्देशनसमेत दिएकाे छ। राष्ट्रिय खेलकुद विकास ऐनमा एक खेलको लागि एउटामात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था छ।
ऐनको धारा २६ को दफा ५ को उपदफा ९४० मा परिषदमा दर्ता गर्दा एक खेलको लागि एकभन्दा बढी तथा एकै उद्देश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ।
ऐनको दफा ६ को उपदफा ५ मा ऐन प्रारम्भ हुदाँको बखत एउटै खेलको लागि एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन् भने ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषदले जनाएकाे छ।
परिषदकाे १ सय १३ औं बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिले एकै प्रकृतिका दुईभन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयास समेत गरेकाे थियाे। समितिले सहमतिबाट श्रेष्ठको नेतृत्वमा तदर्थ कमिटी गठन गर्याे।
समितिले विवादित संघलाई सहमतीबाट समाधान खोज्न आग्रह गरेकाे थियाे। बडिबिल्डिङमा राजेशबाबु श्रेष्ठ नेतृत्वको नेपाल बडिबिल्डिङ एन्ड फिट्नेस संघ र तत्कालिन शिवलाल श्रेष्ठको नेतृत्वको नेप्लिज फेडेरेसन बडिबिल्डिङ एन्ड फिटनेस संघ अस्तित्वमा रहँदै आएका थिए।
तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने छ।
