काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुअगावै मर्जर र एक्वारका लागि सहमति गर्न वाणिज्य बैङ्कहरुलाई दबाब दिएको छ । मर्जर र एक्विजिसन बाध्यता भएको बताउदै यसका लागि तयार रहन गभर्नर डा. चिरञ्जीवी नेपालले बैङ्करलाई बताए ।
२८ ओटै बैङ्कका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बिहीबार राजधानीको याक एन्ड यती होटलमा बोलाएर गर्भनरले मौद्रिक नीति अगावै मर्जरमा जानका लागि सहमति सहितको पत्र पठाउन निर्देशन दिएका छन् । आगामी मौद्रिक नीतिमा विग मर्जरलाई प्राथमिकता दिने उनले स्पष्ट पारे । ‘राष्ट्र बैङ्कले मर्जर नीति ल्याउँदै छ तपाईंहरु आफनो जोडी आफै खोज्नुस्, हामीले खोज्नुपर्ने अवस्था नआओस्’ भनेको बैठकमा सहभागी बैङ्कका एक अध्यक्षले क्यापिटल नेपाललाई भने । मौद्रिक नीति अघि नै मर्जरमा जाने आशयपत्र राष्ट्र बैङकमा पठाउन भनेका छन् । आशयपत्रका आधारमा केन्द्रीय बैङ्कले मर्जरमा जान नीतिगत निर्णय लिने उनको भनाइ थियो ।
सरकारले बजेटमा मर्जर नीतिलाई ल्याएको बताउदै उनले यसबाट राष्ट्र बैङ्क पछि हट्न नसक्ने र मर्जर गराएरै छाड्ने स्पष्ट पारेका थिए । ‘केन्द्रीय बैङ्कको नीति फोर्स मर्जर नएको आफुखुसी नै भएको बताउँदै त्यसले तपाईहरुलाई आफ्नो जोडी खोज्नुस भनेको हो,’ गभर्नर नेपालले बैङ्करलाई भने । मर्जरमा जानेलाई सहुलियत दिने उनले स्पष्ट पारेका छन् ।
यसअघि पुँजी बढाउदा सबैको सहयोग भएको स्मरण गराउँदै उनले अहिले पनि मर्जरमा सहयोग हुने विश्वास व्यक्त गरेका थिए । ‘केन्द्रीय बैङ्कले नीति ल्याएपछि पछि फर्कंदैन । पुँजी बढाउन हामीलाई धेरै ठाउँबाट दबाब आए पनि यसमा अडिग रहेर बढाएर छाड्यौं र सफल भयो उनले भने मर्जरको नीतिमा पछि हट्दैनौं, लागु गराएरै छाड्छौं,’ गभर्नर नेपालले भने ।
उनले अर्थतन्त्रको आकारभन्दा बैङ्कको सङ्ख्या धेरै भयो, त्यसलाई हटाउनुपर्छ भनेको बैठकमा सहभागी ती अध्यक्षले बताए । मर्जरपछि लगानी गर्ने क्षमता बढ्ने, खर्च घटने र अवस्थ प्रतिस्पर्धा हट्ने भएकाले मर्जर आवश्यक भएको गभर्नरको तर्क थियो ।
बैङ्कका अध्यक्षहरुले मर्जरमा जान तयार रहेको तर यसका लागि सहुलियत दिनुपर्ने बताएका थिए । अध्यक्षहरुले राष्ट्र बैङ्कले ल्याएको मर्जर नीतिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए
राष्ट्र बैङ्कले बिहान वाणिज्य बैङ्कका अध्यक्ष, दिउँसो विकास बैङक र अपराह्न फाइनान्स कम्पनी र लघुवित्तका अध्यक्ष तथा सीइओहरुसँग छलफल गर्ने कार्यतालिका छ ।
ग्लोबल बैङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश ढकालले राष्ट्र बैङ्कले मर्जरमा जानका लागि निर्देशन दिएको र यस विषयमा बैङ्क व्यवस्थापन र सञ्चालक समितिबीच बसेर एउटा निर्णय हुने बताए । सबै बैङ्कलाई एक असार २६ भित्र प्रतिबद्धतापत्र बुझाउन राष्ट्र बैङ्कले निर्देशन दिएको उनको भनाइ छ ।