काठमाडौं। काठमाडौं भोटेबहालस्थित दीप हाइस्कुलका विद्यार्थीले उपत्यकाका विभिन्न ठाउँमा ‘सामाधान के?’ नामक सडक नाटक मञ्चन गरेका छन्।
नाटकमा हाल विद्यार्थीमा मोबाइलमा झुम्मिने, कुलतमा फस्ने, पढाप्रति चासो नराख्नेलगायत समस्या बढ्दै गइरहेकोले यसको सामाधान के हो? भनेर दर्शकसँग सोधिएको छ। नाटकमा अहिलेका धेरै अभिभावकको व्यस्त जीवनशैलीले बालबालिकालाई समय दिन नपाएको देखाइएको छ। अभिभावकले समय नदिएका कारण बालबालिकामा एक्लोपन अनुभूति हुन गई विभिन्न गलत क्रियाकलापमा फस्ने गरेको पनि नाटकमा देखाइएको छ।
दीप हाइस्कुलको आयोजनामा मञ्चन भएको उक्त नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका थिए। नाटक बसन्तपुर डबली, लगन चोक, जैसिदेवल चोकमा मञ्चन भएको थियो भने आगामी दिनमा फेरि सोही नाटकलाई अन्य स्थानमा पनि मञ्चन गरिने जनाइएको छ।
यसरी समुदायमा नाटक मञ्चन गर्दा बालबालिकालाई नाटक अभ्यास हुने र समुदायमा सन्देश पनि प्रवाह हुने मञ्चन कार्यक्रममा नाटकका लेखक तथा निर्देशक अवस्थीले बताए।
पढाइका साथमा विद्यार्थीको क्षमता वृद्धि गर्ने विभिन्न कार्यक्रम गर्दै आएको स्कुलले गएको प्रतिनिधि र प्रदेशसभाको चुनावमा पनि ‘आफ्ना छोराछोरीको भविष्यका लागि भए पनि राम्रो उम्मेद्वारलाई भोट दिऔं’ भन्दै ‘हाम्रो भविष्य तपाईंको भोटमा’ नामक नाटक मञ्चन गरेको थियो।
विद्यार्थीको रुची बुझेर सोहीअनुसार पढाइबाहेक अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउने स्कुलका प्रिन्सिपल शैलेश डंगोलले बताए।
उक्त नाटकमा प्रभा बुढा, स्नेहा यादव, रोमन सुन्दास, हिमांशु गिरी, श्रीजल मानन्धर, अभय शर्मा, मटिना महर्जन, रोज देउला, सजना ढकाल, ऋतिका खड्का, केन्द्रिका खड्का, एन्जल शाही, रोशनी पाण्डेय, सुप्रिया पटेल, श्रीना तामाङ, श्रृष्टि जैसवाल, निधिकुमारी शाह, रिया बेगा, अबिना खड्का, दिलीप सिलवाल, दिप्सन कुँवर, तपस्या शाक्यलगायत २२ कलाकारले अभिनय गरेका थिए भने नाटकको व्यवस्थापन अर्पणा बज्राचार्य र सानुमैया महर्जनले गरेका थिए।