काठमाडौं। एउटा सामान्य किराना पसलको आवरणमा डेढ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी र हुन्डी कारोबार। काठमाडौँको एकान्त बस्तीमा भाडाको कोठामा बसेर विदेशी नागरिकहरूले नेपाली युवाहरूलाई प्रलोभन देखाउँदै सञ्चालन गरेको अवैध कल सेन्टर। अष्ट्रेलिया, अमेरिका र युरोपमा कम्पनी खडा गरेर कानुनी मुहार लगाउने तर नेपालमा भने अवैध बाटोबाट अर्बौँ रुपैयाँ भित्र्याउने सञ्जाल। यी छरिएका घटनाहरू एउटै सूत्रमा उनिएका छन्— नेपालमा फैलिँदो क्रिप्टोकरेन्सी र हुन्डीको अवैध साम्राज्य।
यो बढ्दो खतरालाई गम्भीरताका साथ लिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अहिले यस्ता मुद्दाहरूको अनुसन्धानमा पूरा शक्ति लगाएर जुटेको छ। सीआईबीका अतिरिक्त महानिरीक्षक डा. मनोज केसीका अनुसार नेपालमा पछिल्लो समय अभौतिक मुद्राको कारोबार चिन्ताजनक रूपमा बढेको छ र यो कारोबार अब ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसँग प्रत्यक्ष जोडिन पुगेको छ।
प्रतिबन्ध, तर धन्दा फस्टाएको छ
नेपालमा क्रिप्टोकरेन्सी पूर्णरूपमा प्रतिबन्धित छ। नेपाल राष्ट्र बैंकले यसको कारोबारलाई गैरकानुनी घोषित गरेको छ र हालसम्म यी गतिविधिहरू सरकारी निगरानीभन्दा बाहिर नै छन्। तर कानुनको यो बाधा पार गर्न अपराधीहरूले नयाँ नयाँ तरिका अपनाइरहेका छन्। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाईले सार्वजनिक गरेको स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२५ ले ब्लकचेन र डिस्ट्रिब्युटेड लेजर टेक्नोलोजी जस्ता आधुनिक प्रविधिको प्रयोग गर्दै अवैध वित्तीय कारोबार भइरहेको देखाएको छ।
यो रिपोर्टका अनुसार ४२ प्रतिशत शंकास्पद कारोबारहरू डिजिटल प्लेटफर्ममार्फत असम्बन्धित व्यक्तिहरू बीच बारम्बार हुने डिपोजिट र विथड्रको आधारमा पहिचान गरिएको थियो। बैंक स्टेटमेन्टहरूमा बाइनान्स, यूएसडीटी, क्रिप्टाे र बिटक्वाइन जस्ता शब्दहरू प्रयोग गरी बैंकिङ च्यानलबाटै अवैध कारोबार भइरहेको देखिएको छ। झनै गम्भीर कुरा के छ भने हुन्डी सञ्चालकहरूले सीमापार रकम स्थानान्तरणका लागि क्रिप्टोकरेन्सी सेटलमेन्ट प्रयोग गरिरहेका छन्, जसले परम्परागत बैंकिङ प्रणालीलाई पूर्णतः बाइपस गरिरहेकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ।
किराना पसलदेखि क्यासिनोसम्म: अपराधको विस्तृत जालो
अवैध कारोबारका घटनाहरू हेर्दा यो धन्दाको जालो कति गहिरो र फैलिएको छ भन्ने स्पष्ट हुन्छ। सीआईबीले ललितपुरको सानेपास्थित एउटा किराना पसलमा छापा मारेर दुई भारतीय नागरिकलाई पक्राउ गर्दा उनीहरूले डेढ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी र हुन्डी कारोबार गरेको खुलेको थियो। पसलको आवरणमा सञ्चालित यो धन्दाले नेपालमा अपराधीहरू कति चतुर तरिकाले लुकेर काम गर्छन् भन्ने देखाउँछ।
काठमाडौँको कालो पुलस्थित एउटै ठेगानाबाट प्रहरीले दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गर्दा उनीहरूले ६ करोड ६ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको थियो। यो एउटा मात्र घटना होइन। काठमाडौँको दरबारमार्गस्थित एक प्रतिष्ठित क्यासिनोमा समेत अनलाइन जुवाका साथै क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबार भइरहेको पाइएपछि प्रहरीले मुद्दा दायर गर्यो। सो कम्पनीले वैदेशिक मुद्राको कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति नलिएको अनुसन्धानमा खुलेको थियो।
विदेशबाट निर्देशित, नेपालमा सञ्चालित
यो अवैध धन्दाको अर्को एक खतरनाक पाटो भनेको अन्तर्राष्ट्रिय सञ्जाल हो। संयुक्त अरब इमिरेट्सको प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको भन्दै चिनियाँ, फिलिपिनी र नेपाली नागरिकलाई आ-आफ्नो देशमा फिर्ता पठाएपछि उनीहरूले नेपालमा आएर सोही प्रकृतिको काम सञ्चालन गर्ने योजना बनाए। उनीहरूले काठमाडौँको एकान्त बस्तीमा घर भाडामा लिएर कल सेन्टर सञ्चालन गर्दै नेपाली युवायुवतीलाई राम्रो तलबको प्रलोभन देखाएर गैरकानुनी रूपमा काममा लगाएका थिए। सीआईबीले छापा मार्दा तीन विदेशी नागरिकसहित ५० जनालाई नियन्त्रणमा लिँदा ५५ थान कम्प्युटर, १९४ थान मोबाइल र चार थान ल्यापटपसमेत बरामद भएको थियो।
हुन्डीको मामिलामा पनि विदेशी संलग्नता त्यत्तिकै गहिरो छ। अष्ट्रेलिया, अमेरिका र युरोपमा कम्पनी खडा गरेर त्यहाँ रकम संकलन गर्ने र नेपालमा भने नेपाली रुपैयाँमै भुक्तानी गर्ने खेललाई सीआईबीले नजिकबाट अनुगमन गरिरहेको छ। कतिपय नाम चलेका कम्पनीहरूले समेत यही पद्धति अपनाउने गरेको अनुसन्धानबाट खुलेको छ।
अर्बौंको ठगी: क्रिप्टो र हुन्डीको घातक गठबन्धन
सीआईबीले ७ जनालाई पक्राउ गर्दा उनीहरूको संगठित समूहले हालसम्म ३ अर्बभन्दा बढी ठगी गरेको खुलेको थियो। ठगी गरेको रकम थोरै समयमै विभिन्न तहमा विभिन्न व्यक्तिको बैंक तथा वालेटमा ट्रान्सफर गर्ने गरेको पाइएको थियो। विशेषगरी हुन्डी कारोबार गरेर विदेशमा रहेका नेपालीलाई प्रलोभन देखाएर एजेन्टमार्फत रकम लिने र नेपालमा रहेका नातेदारको खातामा अवैध रकम जम्मा गरिदिने गरेको अनुसन्धानमा खुलेको थियो।
यो अपराधको फाँटमा युवा पुस्ता पनि भित्रिन थालेको तथ्य झनै चिन्ताजनक छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार अवैध भर्चुअल एसेट तथा क्रिप्टो कारोबारमा संलग्न मध्ये धेरैजसो २१ देखि ३५ वर्षका विद्यार्थी र कर्मचारी रहेका छन्। राम्रो तलब र सहज कमाइको लालसाले युवाहरू यस्तो जालोमा फसिरहेका छन्।
सरकारले यस विरुद्ध कानुनी दायरा अझ कस्न थालेको छ। सरकारले हालै राजपत्रमा सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण कसुरमा क्रिप्टो, बेटिङसहित आधा दर्जन कसुर थप गरेको छ। यसअनुसार मानव तस्करी, हुन्डी, अभौतिक मुद्रा प्रयोग र बिना अनुमति क्यासिनो सञ्चालनसम्बन्धी कसुर अब सम्पत्ति शुद्धीकरण अपराधमा आकर्षित हुनेछन्। नेपालले राष्ट्रिय फौजदारी कार्यविधि संहिताको दफा २६२(क) संशोधन गरी भर्चुअल एसेटलाई पूर्णरूपमा आपराधिक क्रियाकलाप मानेको छ।
तर कानुन कसिँदैमा मात्र समस्या हल हुने छैन। प्रविधिको सीमाविहीन प्रकृतिका कारण अनुसन्धानमा कठिनाइ भइरहेको छ। मिक्सर्स, प्राइभेसी कोइन्स र डिसेन्ट्रलाइज्ड एक्स्चेन्ज जस्ता प्रविधिले कारोबारको स्रोत लुकाउन मद्दत गरिरहेका छन्, जसलाई ट्र्याक गर्न ब्लकचेन फरेन्सिक टुलको आवश्यकता पर्छ। त्यसैले प्रतिवेदनले नेपाल प्रहरी र अनुसन्धानकारी निकायलाई अत्याधुनिक ब्लकचेन विश्लेषण प्लेटफर्महरू प्रयोग गर्न र अन्तर्राष्ट्रिय समन्वय बढाउन सिफारिस गरेको छ।
क्रिप्टोकरेन्सी र हुन्डीको अवैध कारोबार नेपालको वित्तीय प्रणालीका लागि गम्भीर खतरा बन्दै गएको छ। यो एउटा किराना पसल वा एउटा कोठाको मात्र समस्या होइन, यो एक सुव्यवस्थित अन्तर्राष्ट्रिय सञ्जालको नेपाली शाखा हो। सीआईबीले अनुसन्धानको गति बढाएको सकारात्मक कदम भए पनि प्रविधिक क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र सचेत जनसमुदायको निर्माण नभई यस अपराधमाथि वास्तविक नियन्त्रण सम्भव छैन। अर्बौंको यो डिजिटल अँध्यारो मासिन कानुन मात्र पर्याप्त हुँदैन, राज्यले प्रविधिसँग कदम मिलाउन सकेन भने यो लडाइँ जित्न कठिन हुनेछ।