काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ।
अनेरास्ववियूले केही समयअघिमात्र शिक्षा मन्त्रीमा निर्वाचित भएका शिशिर खनालको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि शुक्रबार बिहान पुत्ला दहन गरेका हुन्।

मन्त्रीले आउने बित्तिकै जनक शिक्षा सामग्री केन्द्रलाई मासेर पुस्तक छाप्न निजी क्षेत्रलाई दिने तयारी गरेको भन्दै उनीहरुले मन्त्री खनालको पुत्ला दहन गरेका हुन्।
‘जनक शिक्षा सामग्रीमा जनशक्ति पुगेन भने जनशक्ति थप्ने हो, बजेट अपुग भएमा बजेट थप्ने काम गर्नुपर्यो, व्यवस्थित बनाउनुपर्यो र भष्टाचारीलाई कारबाही गर्नुपर्याे,’ अनेरास्वियु केन्द्रीय कमिटीकी नेतृ आरती लामाले भनिन् ‘तर राज्यको संयन्त्रको रुपमा रहेका निकायलाई भत्काउने गरी निजि क्षेत्रलाई जिम्मेवारी दिन मिल्दैन भन्ने हिसाबले हामीले मन्त्रीको विरोध गरेका हौं।’

उनले जनक शिक्षा सामग्री केन्द्रले ६ महिनासम्म पनि देशका विकट ठाउँहरुमा पुस्तक पुराउन नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने पनि बताइन्। तर, हालको अवस्थालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा लाग्नुपर्नेमा निजी क्षेत्रलाई पोस्ने काममा लाग्न नहुने उनको भनाइ छ।
‘राज्यका सरकारी निकायलाई डुबाउने काम गर्नुभन्दा यसमा सुधार ल्याउनुपर्छ भन्ने अनेरास्ववियूको माग हो,’ लामाले भनिन् ‘मन्त्रीले यो गलत कदमबाट पछि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’