काठमाडौं । विशेष अदालतले राजस्वअनुसन्धान विभागका पूर्वशाखा अधिकृत रामजी रिजाललाई करिब ३ करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा दोषी ठहर गरेकाे छ।
आइतबार विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै २०७५ फागुन ६ गते उनीविरुद्ध मुद्दा दायर गरेको थियो। रिजालले विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी गैर–कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।
खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरेका रिजाल भूमिसुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ति पाएका थिए।
२०७५ वैशाख १५ गते राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतबाट रिजालले अनिवार्य अवकाश पाएका थिए। अख्तियारले उजुरीका आधारमा २०४० कात्तिकदेखि २०७५ पुस ३० गतेसम्मको अवधिलाई लिएर छानबिन तथा विश्लेषण गर्दा अकुत सम्पति आर्जन गरेको फेला पारेको थियो।
रिजालले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा बिक्री, श्रीमतीका नाममा सञ्चालित सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एन्ड टुर्सको आय, अवकासपश्चात् सुविधा प्राप्त आय, कर्जालगायतबाट जम्मा १ करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ आयआर्जन गरेको अख्तियारको जनाएको थियो।
सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल डी बटुवा प्रालि तथा सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिब्यूटर्स र पिगासस ट्राभल्स एन्ड टुर्स प्रालिलगायतका कम्पनी लगानी र बैंक तथा वित्तीय कम्पनीहरूमा सेयर खरिद, शैक्षिक खर्च, सुन चाँदी खरिद तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात ४ करोड ९४ लाख २४ हजार ८ सय १९ खर्च तथा लगानी गरेको फेला परेको अख्तियारको दाबी थियो।
उनको वैध आयको तुलनामा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले दायर गरेको रिटमा उनलाई दोषी ठहर गरिएको हो।