काठमाडाैं । साताको सुरुआती दिनमा उकालो लागेको नेप्से परिसूचक आज साताकाे अन्तिम दिनसम्म घट्ने क्रममा रह्याे । बिहीबार धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक १.१४ अङ्कले घटेर एक हजार २५७.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भएको छ । सेन्सेटिभ परिसूचक ०.३५ अङ्कले बढेर २७१.१६ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता सेयर ६२ करोड ७९ लाख आठ हजार ८१२ रूपैयाँमा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये चार उपसमूहको मात्र सेयर वृद्धि भएको छ । बैंकिङ ०.७२, होटल १८.०८, वित्त ३.४३ र अन्य उपमूहको सेयर २.७१ अङ्कले बढ्दा विकास बैंक २.६७, जलविद्युत् २.०७, निर्जीवन बीमा १०१.३५, उत्पादन १०.६१, लघुवित्त १.६३, जीबन बीमा २२.७४ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ ।
कारोवार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको सेयर १४ करोड ९७ लाख ७१ हजार ५०० रूपैयाँमा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यसैगरी नेपाल बैंक लिमिटेडको पाँच करोड ६५ लाख ५५ हजार ६००, प्रभु बैंक लिमिटेडको तीन करोड ११ लाख २८ हजार ०८६, शिवम् सिमेन्टस् लिमिटेडको दुई करोड ९९ लाख १७ हजार ५१०, सिद्धार्थ बैंक लिमिटेडको दुई करोड ५५ लाख ३० हजार ४४४ र गुर्खाज फाइनान्स लिमिटेड (संस्थापक सेयर) एक करोड ८१ लाख २५ हजार ९०० रूपैयाँमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
नेप्से परिसूचक घटे पनि मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले ९.१५ प्रतिशतले कमाए । यसैगरी नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ७.९७, एसियन लाइफ इन्स्योरेन्स् कम्पनी ३.४०, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३३, वेष्ट फाइनान्स कम्पनी २.९४ र सिन्धु विकास बैंकका सेयरधनीले २.९२ प्रतिशतले कमाए । आइएमई जनरल इन्स्योरेन्स ४.७५, पाँचथर पावर कम्पान्ट लिमिटेड ४.७२, स्पर्स लघुवित्त वित्तीय संस्था ४.२२, कालिका पावर कम्पनी ४.१२, आँखुखोला जलविद्युत् कम्पनी ४.०० र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयरधनीले ३.९४ प्रतिशतका दरले गुमाए ।