काठमाडौँ । राष्ट्र बैंकका डेपुटी गभर्नर कम्तीमा एक महिनाका लागि निलम्बित भएका छन् । राष्ट्र बैंक संचालक समितिले उनीमाथी लागेको आरोप छानबिन गर्न राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा बनाएको छानबिन समितिले एक महिनाभित्र प्रतिबेदन तयार गर्ने बताएको छ । समिति गठन भएसँगै स्वत निलम्बनमा परेका छन् ।
डेपुटी गभर्नर श्रेष्ठमाथि लागेका आरोपका कारण यतिबेला बैंकिङ क्षेत्र तातेको छ । उनीमाथी पद अनुकुलको काम नगरेको, वित्तिय क्षेत्रमा अनुचित गतिविधी गरेको, व्यवसायी अजेयराज सुमार्गीको पैसा बैंकबाट निकाल्न सहयोगी भूमिका खेलेको, सम्पत्ति शुद्धिकरण निवारण विरुद्द लाग्नु पर्नेमा शुद्धिकरणलाई सघाएको, एनसेलको लाभांश लैजान स्वीकृति दिएको, बैंक तथा वित्तिय संस्थाको नियमनको काममा बदनियत राखेको, वैदेशिक भ्रमण जाँदा फर्जी कागजात बनाएर अनाधिकृत सुविधा लिएकोलगायतका आरोप लागेको छ ।
त्यस्तै, श्रेष्ठले केही बैंकको खराब कर्जाको वास्तविक नदेखाएर घटाउन सहयोग गरेको आरोप पनि लागेको छ । तर, श्रेष्ठले आफूलाई गभर्नर बन्न नदिन गलत आरोप लगाएको जिकिर गर्दै आएका छन् । नेपाली कांग्रेस निकट मानिने डेपुटी गभर्नर श्रेष्ठलाई राजनितिक कारणले मात्रै आरोप नलगाइएको राष्ट्र बैंक स्रोतको दाबी छ । ‘उनले केही गलत गरेकै कारण आरोप लागेको होला, निर्दोषलाई यति धेरै आरोप किन लाग्थ्यो र ?’ उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार गभर्नर डा. चिरन्जीबि नेपाल समेत डेपुटी गभर्नर श्रेष्ठका काम प्रति संन्तुष्ट थिएनन् । सोहि कारण एक वर्षअघि राष्ट्र बैंकले उनका केही जिम्मेवारी अर्का डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई दिएको थियो । डेपुटी गभर्नर श्रेष्ठले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी समाल्दै आएका थिए ।