काठमाडौं । तनहुँ जलविद्युत आयोजनाका लागि इटालियन बैंकको काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेस्टमेन्ट बैंकलाई रकम फिर्ता दिने विषयमा यहि महिना नाेभेम्बरमा फैसला हुने भएको छ ।
तनहुँ जलविद्युत आयोजनाको तत्कालिन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी) को काउन्टर ग्यारेन्टी नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको थियो । ठेक्का तोडिएपछि तनहुँ हाइड्रोपावरले सीएमसीको इन्भेस्टमेन्ट बैंकमा भएको ग्यारेन्टी वापतको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ गरी १ अर्ब ९७ करोड रुपैयाँ जफत गरेको थियो ।
तनहुँले सीएमसीको काउन्टर ग्यारेन्टी जफत गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले सो रकम इटालियन बैंकसंग फिर्ता मागेको थियो । तर, इटालियन अदालतबाट तत्काल जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको हो ।
साेहि काउन्टर ग्यारेन्टीको रकम दिने विषयमा इटलीको अदालतबाट यो महिनाभित्र अन्तिम फैसला हुन लागेको बैंक स्रोतले बतायो । अदालतबाट कस्तो फैसला आउँने छ त्यो हेर्न बाँकी छ ।
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले ले गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो । फागुन ७ मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावरले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सीएमएसीलाई गराएको छ ।
तनहुँ हाइड्रोपावर र सिएमसीबीच १५ असोजमा २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) खरिद सम्झौता भएको थियो ।
झण्डै २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टीको रकम असुल नभएपछि नेपाल इन्भेस्टमेन्टकाके निष्क्रिय कर्जा बढेपछि नाफामा असर परेको छ ।
यसअघि पनि बैंक अफ काठमाण्डु र हिमालयन बैंकले चाइना रेल्वे १५ व्यूरो कर्पोरेशनको काउन्टर ग्यारेन्टी रकम चाइना कन्ट्रक्सन बैंकले फिर्ता दिएको छैन । दुई बैंकको गरी झण्डै २ अर्ब रुपैयाँ छ ।