काठमाडौं । न्यूनतम चुक्तापुँजी नपुर्याउने बिमा कम्पनीप्रति नियामक बिमा समिति लचिलो बन्ने भएको छ । ३९ ओटा बिमा कम्पनीमध्ये ८ ओटाले मात्रै न्यूनतम पुँजी पुर्याएपछि बाँकी कम्पनीप्रति समिति लचिलो बन्ने देखिएको हो ।
‘जीवन र निर्जीवन गरी ३९ ओटा बिमा कम्पनी छन् । त्यसमध्ये ८ ओटाले मात्रै पुँजी पु¥याएका छन्, बाँकीले अहिलेसम्म पुर्याएका छैनन्,’ बिमा समितिका एक अधिकारीले क्यापिटल नेपाललाई भने, ‘पुँजी नपुर्याउने कम्पनीलाई थप समय दिनुको विकल्प छैन ।’
समितिले आर्थिक वर्ष २०७२/०७३ मा बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने योजना ल्याएको थियो । जसअनुसार जीवन बिमा व्यवसाय गर्नेको २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ न्यूनतम पुँजी तोकेको थियो ।
‘९० प्रतिशत कम्पनीले समयसीमाभित्र पुँजी पुर्याउन सक्ने अवस्था देखिएन्,’ ती अधिकारीले भने, ‘पुँजी नपुर्याउने कम्पनीलाई कारबाहीभन्दा पनि एक पटक थप समय दिनुपर्ने देखिएको छ ।’
तीन वर्षअघि पुँजी बढाउने योजना ल्याए पनि अहिलेसम्म बिमा समितिले बिमा कम्पनीलाई पटक–पटक समय थप्दै आएको छ । यदि यस पटक पनि थपिए, समय थपेको तीन पटक हुने सरोकारवाला बताउँछन् ।
बिमा समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले असार मसान्त आउन अझै केही समय बाँकी रहेको बताए । ‘हामीले तोकेको समयसीमा असार मसान्त हो, त्यो आउन अझै केही दिन बाँकी छ,’ उनले भने, ‘समयसीमासम्म हेरौं, त्यसपछि मात्रै के गर्ने भन्ने बारेमा छलफल हुन्छ ।’
याे पनि हेर्नुहाेस् : अधिकांश बीमा कम्पनीले पुर्याउन सकेनन् पुँजी, असारपछि के गर्छ बीमा समितिले ?
समयसीमा नसकिएकाले अहिले नै समय थप्ने वा नथप्ने भन्नेबारे कुरा गर्नुको औचित्य नहुने उनको भनाइ छ ।
तर, चुक्तापुँजी नपुर्याउने बिमा कम्पनीका सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्म म्याद थप्न दौडधुप गरिरहेका छन् । असार मसान्तसम्म कुनै हालतमा तोकिएको पुँजी पुर्याउन सकिन्न, म्याद थप्नुको विकल्प छैन भन्दै समिति तथा अर्थ मन्त्रालयमा लबिङमा लागेको स्रोतको भनाइ छ ।
अधिकांश कम्पनीको वार्षिक साधारणसभा गर्न बाँकी रहेकाले पनि पुँजी नपुगेको हो ।
समितिका कार्यकारी निर्देशक पौडेलले पुँजी नपुर्याउने बिमा समितिलाई मर्जको बाटो खुला गरिएको पनि जानकारी दिए । ‘जसले न्यूनतम पुँजी पुर्याउन सक्दैनन्, उनीहरुले मर्जरको बाटो रोजे राम्रो हुन्छ,’ उनले भने ।