काठमाडाैं। पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ सांगीतिक यात्राका क्रममा युएई जाने भएको छ।
कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो। यही अप्रिल २२ मा दुबई र २३ मा आवुधावीमा ‘लेकाली ब्याण्ड लाइभ इन कन्सर्ट’ आयोजना हुने ब्याण्डका सदस्य नवीन गुरुङले जानकारी दिए।
युएईमा रहेका नेपाली समुदायको आयोजना र व्यवस्थापनमा कार्यक्रम हुन लागेको उनको भनाइ छ। 'कोभिड महामारीपछि कन्सर्ट लिएर पहिलोपटक विदेश जाँदैछौँ,' उनले भने, 'युएईपछि अरु देशमा पनि जाने तयारी छ।'
ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विदेशयात्रा तय गरिएको हो। ब्याण्डमा गायक नवीनसहित विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी छ सदस्य छन्। विसं २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’लगायत गीत चर्चित छन्।
लेकालीले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो। त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्कि हेर्दा’लगायत एल्बम स्रोतामाझ ल्याएको थियो। पोखरामा सांगीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रियजस्तै बनेको थियो।
ब्याण्डका नयाँ–पुराना सदस्य मिलेर लेकालीलाई फेरि पुरानै लयतिर फर्काउने प्रयासमा लागेका हुन्। स्थापनाकालमा ब्याण्डमा रहेका कतिपय कलाकार अहिले विदेशमा छन्। लेकालीले पोखरालगायत देशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ।
यसअघि लेकालीले हङ्कङ, बेलायतलगायत देशमा लाइभ कन्सर्ट गरिसकेको छ। जापान, कोरिया, मकाउलगायत देशमा कन्सर्टको तयारी भइरहेको लेकालीले जनाएको छ। संगीतमा नेपालीपन लेकाली ब्याण्डको विशेषता हो। 'बजारमा के चलेको भन्दा पनि पछिसम्म कालजयी हुने गरी गीतसंगीत सिर्जना गर्छौं,' ब्याण्डका अर्का सदस्य अमितले भने।