काठमाडौं। नेपालको सेयर बजारमा प्रभावशाली लगानीकर्ताका रूपमा चिनिएका दीपेन्द्र अग्रवाल यतिबेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक अनुसन्धान प्रतिवेदन र बजारमा देखिएको अस्वाभाविक उतारचढावका आधारमा उनलाई धितोपत्रसम्बन्धी गम्भीर कसुरमा पक्राउ गरिएको हो।
धितोपत्र बोर्डले रूपेश केसीको संयोजकत्वमा गठन गरेको प्रारम्भिक जाँचबुझ समितिले अग्रवालले सेयर बजारलाई आफ्नो नियन्त्रणमा राख्न विभिन्न गैरकानुनी हर्कत गरेको निष्कर्ष निकालेको थियो। सोही प्रतिवेदनका आधारमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
अग्रवालमाथि विशेष गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५ र ९७ बमोजिमका कसुरहरू गरेको आरोप छ। अग्रवालले आफ्नो फाइदाका लागि बजारको स्वाभाविक लयलाई नै खल्बल्याएको र यसमा ब्रोकर कम्पनीहरूको समेत मौन सहमति रहेको प्रतिवेदनको निष्कर्ष छ। उनले नेपालको सेयर बजारमा लगानीकर्ताको भेषमा संगठित वित्तीय अपराध भइरहेको पुष्टि बोर्डको प्रतिवेदनले गरेको छ।
उक्त प्रतिवेदनअनुसार चर्चित लगानीकर्ता अग्रवालले १५ वटा विभिन्न व्यक्तिका नाममा रहेका खाता (टीएमएस) र सामाजिक सञ्जालको दुरुपयोग गरी बजारमा कृत्रिम मूल्य कायम गर्ने र सर्वसाधारणलाई ठग्ने गरेको प्रतिवेदनको मुख्य ठहर छ। बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको अन्तिम निष्कर्षमा अग्रवालले ‘त्रिकोणात्मक अपराध’ गरेको उल्लेख छ। पहिलोमा अग्रवाल आफैंले नियन्त्रण गर्ने १५ वटा खाताहरू बीच एकआपसमा सेयर घुमाएर बजारमा झुटो माग देखाउने (वास टेड्रिङ), दोस्रोमा बजार बन्द हुने अन्तिम मिनेटमा मूल्य बढाउने र तेस्रोमा सामाजिक सञ्जालमार्फत भ्रामक हल्ला फैलाएर सर्वसाधारणलाई उक्साउने अभियोग छ।
१५ वटा खाताः एउटै व्यक्तिको ‘साम्राज्य’
अग्रवालले सेयर खरिदबिक्रीका लागि आफ्ना नातेदार र सम्बद्ध संस्थाहरूको नाममा रहेका १५ वटा टीएमएस खाताहरू पूर्ण रूपमा आफैंले सञ्चालन गर्ने गरेको भेटिएको छ। अग्रवालले सेयर कारोबारका लागि आफ्नै नाममा मात्र नभई परिवारका सदस्य र आफन्तका नाममा रहेका १५ वटा टीएमएस खाताहरू पूर्ण रूपमा नियन्त्रणमा लिएको देखिन्छ।
प्रतिवेदनअनुसार उनले सविता अग्रवाल, ज्योति अग्रवाल, जय प्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, आहान मुरारका अग्रवाल, राम सिंह साउद, मनकुमारी गुरुङ, वीरेन्द्र बहादुर साउद र सीमा कुमारी अग्रवालका नाममा रहेका खाताहरू प्रयोग गरी ‘मल्टिपल ट्रेडिङ’ गर्ने गरेका थिए। अग्रवालले बजारमा कृत्रिम माग सिर्जना गर्नु र एउटै समूहभित्र सेयर घुमाएर मूल्य बढाउनु रहेको प्रतिवेदनले औंल्याएको छ।
कृत्रिम वा झुटो कारोबार
अग्रवालले गरेका कसुरहरूमध्ये सबैभन्दा गम्भीर ‘वास ट्रेडिङ’ हो। धितोपत्र सम्बन्धी ऐनको दफा ९४ अनुसार, वास्तविक स्वामित्व परिवर्तन नहुने गरी गरिएको कारोबारलाई झुटो कारोबार मानिन्छ। प्रतिवेदनमा उल्लेख भएअनुसार, अग्रवालले ज्योति अग्रवालको नामबाट सेयर बिक्री गर्ने र स्मार्ट डोर्स लिमिटेड (जसमा उनी आफैं सञ्चालक छन्) बाट खरिद गर्ने गरेका थिए।
त्यस्तै, रेशु अग्रवालले बिक्री गरेको सेयर दीपेन्द्रले किन्ने र दीपेन्द्रले बिक्री गरेको सेयर फेरि ज्योति वा अरू कसैले किन्ने गरी एउटै समूहभित्र सेयर घुमाइएको देखिन्छ। यस्तो कार्यले बजारमा उक्त कम्पनीको सेयर धेरै किनबेच भइरहेको भ्रम पैदा गर्छ, जसले गर्दा सोझा लगानीकर्ताहरू आकर्षित हुन्छन्।
अन्तिम समयको मूल्य चलखेल
अग्रवालले बजार बन्द हुनुभन्दा ठीक अगाडि मूल्य बढाउने रणनीति अपनाएको प्रमाण बोर्डले फेला पारेको छ। उदाहरणका लागि, २०८२ वैशाख १६ गते कर्पोरेट डेभलपमेन्ट बैंकको कारोबारमा उनले अन्तिम समयमा २० हजार कित्ता सेयर आफ्नै समूहभित्र किनबेच गराएर मूल्य ११६.८३ रुपैयाँले बढ्न बाध्य पारेका थिए। यदि त्यो झुटो कारोबार नभएको भए सो कम्पनीको बजार मूल्य निकै कम हुने निश्चित थियो। यसरी मूल्य बढाएर उनले भोलिपल्ट सर्वसाधारणलाई महँगोमा सेयर भिडाउने गरेको देखिन्छ। यसरी अन्तिम समयमा मूल्य बढाएर अर्को दिन सर्वसाधारणलाई महँगोमा सेयर भिराउन अग्रवाल सफल भएको प्रतिवेदनको निष्कर्ष छ।
सामाजिक सञ्जाल र भ्रामक सूचनाको प्रयोग
अग्रवालले लगानीकर्तालाई उक्साउन सामाजिक सञ्जाल (फेसबुक र क्लबहाउस)को व्यापक प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। उनले ‘जोशी हाइड्रोपावरको हकप्रद आउँदै छ’, ‘यो सेयरमा सर्किट लाग्दै छ’, ‘मैले सबै पोर्टफोलियो यो कम्पनीमा सिफ्ट गरेँ’ जस्ता पोस्टहरू राखेर बजारलाई प्रभावित पार्ने कोसिस गरे।
उनले औसत २७५.७४ रुपैयाँमा किनेको सेयर ३४२.८५ रुपैयाँमा पुर्याएर सर्वसाधारणलाई बिक्री गरे। यो प्रक्रियाबाट उनले छोटो समयमै ४९ लाख १९ हजार ८६५ रुपैयाँ अवैध मुनाफा आर्जन गरेको प्रतिवेदनले किटान गरेको छ। उनले प्रायः ‘यो सेयर बेचेर म यो कम्पनीको सेयर किन्दै छु’ भनी भिडियो र पोस्टहरू राखेर बजारमा कृत्रिम माग सिर्जना गर्ने गरेका थिए।
विशेषगरी जोशी हाइड्रोपावरको हकप्रदको विषयमा उनले दिएको भ्रामक सूचनाले धेरै लगानीकर्ता ठगिएको दाबी गरिएको छ। अग्रवालले आफूले सस्तोमा उठाएका सेयरहरू महँगोमा बेच्नका लागि सामाजिक सञ्जाल (फेसबुक र युट्युब) लाई हतियार बनाएका थिए। प्रतिवेदन अनुसार उनले जोशी हाइड्रोपावरको हकप्रद सेयर आउने र कम्पनीले ठूलो आयोजना खरिद गर्न लागेको भ्रामक हल्ला फैलाए।
धितोपत्र ऐनको दफा ९७ (ग) ले बदनियत साथ झुटा वा भ्रामक विवरण फैलाउनुलाई गम्भीर अपराध मानेको छ, जसमा २ वर्षसम्म कैद र ३ लाखसम्म जरिवाना हुन सक्छ।
करोडौंको शंकास्पद लेनदेन र सम्पत्ति शुद्धीकरण
अग्रवाल र सिप्ला सेक्युरिटिजबीचको लेनदेनले वित्तीय अपारदर्शिताको ठुलो पाटो खोलेको छ। सिप्लाले अग्रवाल र उनका आफन्तको खातामा ३८ वटा चेकमार्फत ३७ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेको र सोही रकम फेरि घुमेर ब्रोकरकै खातामा पुगेको देखिन्छ।
उदाहरणका लागि, एकै दिन सिप्लाबाट दीपेन्द्रको खातामा रकम जाने, दीपेन्द्रबाट ज्योतिको खातामा जाने र ज्योतिबाट पुनः सिप्लाकै खातामा पैसा फर्कने गरेको पाइयो। यो प्रक्रियाले एकातिर सेयरको सेटलमेन्ट भएको देखाउने र अर्कोतिर पैसा आफ्नै वरिपरि घुमाएर ’फन्ड रोटेसन’ गर्ने गरेको देखिन्छ। यस कार्यले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को समेत उल्लङ्घन गरेको बोर्डको ठहर छ।
ब्रोकर कम्पनीहरूको मिलेमतो
यो प्रकरणमा धितोपत्र दलाल व्यवसायीहरू (ब्रोकर) सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेसको भूमिका पनि शङ्कास्पद देखिएको छ। उनीहरूले दीपेन्द्र अग्रवाललाई एउटै कार्यालयबाट १५ जनाको खाता चलाउन दिएको, ग्राहकको वास्तविक हिताधिकारी (अल्टिमेट बेनिफिसरी वोनर) पहिचान नगरेको र एक ग्राहकको रकम अर्को ग्राहकका लागि प्रयोग गर्न दिएको पाइएको छ।
अग्रवालको यो ठगी धन्दामा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिज (ब्रोकर नं १६) को गम्भीर मिलेमतो देखिएको छ। प्रतिवेदनका अनुसारसिप्लाले २०८१ असार १३ र १४ गते मात्रै ३८ वटा चेकमार्फत दिपेन्द्र अग्रवालको खातामा ३७ करोड ९५ लाख रुपैयाँ भुक्तानी दियो। सोही रकम पुनः ज्योति अग्रवालको खाता हुँदै ब्रोकरकै खातामा फर्कियो।
यसरी रकम घुमाउनुले सम्पत्ति शुद्धीकरणको आशंकालाई बल दिएको छ। ब्रोकर कम्पनीले ग्राहकको वास्तविक पहिचान नगरेको र एक ग्राहकको पैसा अर्को ग्राहकको कारोबारमा प्रयोग गर्न दिएको पाइएको छ। श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेसमा समेत अग्रवालले अन्तिम हिताधिकारी लुकाएर कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ।
ब्रोकर नियमावली, २०६४ अनुसार यो गम्भीर लापरबाही हो। बोर्डले यी ब्रोकरहरूलाई पनि सचेत गराउनेदेखि जरिवाना र अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारबाही सिफारिस गरेको छ।
कानुनी व्यवस्था र सजाय
अग्रवालमाथि लगाइएका मुद्दाहरू प्रमाणित भएमा उनले निम्न सजाय भोग्नुपर्ने हुन सक्छ।
दफा ९४, ९५ र ९६ को कसुरमाः ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिवाना वा १ वर्ष कैद वा दुवै।
दफा ९७ (झुक्याउने विवरण) को कसुरमाः १ लाखदेखि ३ लाखसम्म जरिवाना वा २ वर्ष कैद वा दुवै।
हानि–नोक्सानीको क्षतिपूर्तिः उनले गरेको चलखेलका कारण अरू लगानीकर्तालाई भएको क्षति समेत उनैले भराउनुपर्ने व्यवस्था ऐनको दफा १०१ मा छ। दोषी ठहरिएमा २ वर्षसम्म कैद वा १ लाख देखि ३ लाख सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
अग्रवालले गरेको झुटो कारोबारबाट सर्वसाधारणलाई भएको हानि नोक्सानीको बिगो समेत भराइनेछ। साथै, यसमा सम्पत्ति शुद्धीकरण निवारण ऐन समेत आकर्षित हुने देखिएको छ, जसमा अझ कडा सजायको व्यवस्था छ।
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको यो प्रकरणले नेपालको सेयर बजारमा रहेका छिद्रहरू र ‘ठुला माछा’हरूले गर्ने चलखेललाई नग्न रूपमा उजागर गरेको छ। आफ्नै परिवारका १५ सदस्यको नाममा खाता खोलेर, कृत्रिम माग सिर्जना गरी, अन्तिम समयमा मूल्य बढाउने र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्यले बजारको स्वच्छता समाप्त पार्छ।